प्राकृतिक विपदबाट दाङमा एक वर्षमा २६ को मृत्यु

दाङ । प्राकृतिक विपत्मा परी गत वर्ष दाङमा २६ जनाको मृत्यु भएको छ । 

जिल्लाको विभिन्न ठाउँमा भएको प्राकृतिक विपत्मा परी उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १४ पुरुष र १२ महिला रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक खिलानाथ दाहालले जानकारी दिए । 

उनका अनुसार गत वर्ष सर्पदंशका कारण तीन महिला र तीन पुरुष गरी छ जनाको मृत्यु भएको थियो । त्यस्तै करेन्ट लागेर पाँच, माटोको ढिस्कोले पुरिएर पाँच, आगलागीका कारण चार, पानीमा डुबेर दुई र चट्याङमा परी दुई जनाको मृत्यु भएका थिए । सो अवधिमा विपत्मा परी ६ जना घाइते भएका थिए । 

विपत्का कारण गत वर्ष जिल्लामा २१५ घरपरिवार विस्थापित भएको थियो ।

जसमा सबैभन्दा धेरै हावाहुरीका कारण ६५ घरपरिवार, आगलागीका कारण ९१, भारी वर्षात्का कारण ५८ र चट्याङका कारण एक परिवार विस्थापित हुनुपरेको केन्द्रका संयोजक खिलानाथ ढकालले जानकारी दिए । 

गत वर्ष विपत्का कारण जिल्लामा १२ करोड ७५ लाख एक हजार ५५० मूल्य बराबरको क्षति भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । तीमध्ये अहिलेसम्म १२ लाख ५१ हजार जिल्ला प्रशासन कार्यालयमाफर्त पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको केन्द्रका संयोजक दाहालले जानकारी दिए ।

उनका अनुसार प्राकृतिक विपत् हावाहुरी, आगलागी, चट्याङ, वर्षात र पहिरोका कारण धेरै घर, गोठलगायत सरकारी संरचनामा समेत असर पु-याएको छ ।

गत वर्ष जिल्लामा हावाहुरीका ६५, आगलागीका १०२, भारी वर्षात्का ६०, करेन्टसम्बन्धी ११, पानीमा डुबेका ११, चट्याङसम्बन्धी आठ, सर्पदंश डसेका सात र बाढीका तीन गरी कूल २८० विपत्का घटना भएको केन्द्रले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?