फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली डोल्पामा पुग्यो

डोल्पा । डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ ।

नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो ।

शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ नाप्न १० जनाको विज्ञ टोली डोल्पा आइपुगेको छ । नेशनल हाइड्रोलोजिकल एण्ड मेट्रोलजिकल रिसर्च सेन्टर एण्ड कन्सल्टेन्सीले अनुमति पाएपछि विज्ञसहितका १० जनाको टोली फोक्सुण्डो पुगेर तालको गहिराइ मापन गर्ने विज्ञ ध्रुवलोचन अधिकारीले जानकारी दिए । 
    
टोलीमा दुई जना सर्वे गर्ने इञ्जिनीयर, एक जना डुङ्गा चालक, जल तथा मौसम विभागका विज्ञ सुवास तुलाधर, विनिता कायस्थ, दिनेश पराजुली र मौसम भण्डारीको टोली करीव चार दिन बसेर फोक्सुण्डो तालको गहिराइ मापन गरेर फर्किने अधिकारीले जानकारी दिए । 

दिनमा दर्जनौँ पटक रङ बदल्ने, कुनै पनि जीवनको अस्तित्व नभएको र ६ सय ५० मिटर गहिरो तालका रूपमा जापानी नागरिकले विसं २०३६ मा प्रमाणित गरेको स्थानीय बताउँछन् ।

विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागमा फोक्सुण्डो तालको गहिराइ लगायतका विशेषताका विषयमा रेकर्ड नराखिएपछि पछिल्लो समयमा विवाद बढेको स्थानीय आङबहादुर लामाले बताए । 

दोस्रोपटक सन २००४ मा ब्याथिमेट्रिक सर्वे विधि अपनाई वैज्ञानिक मापन गर्दा तालको गहिराइ १ सय ४५ मिटर रहेको तथ्याङ्क जल तथा मौसम विज्ञान विभागमा पेश गरिएपछि फोक्सुण्डो तालको गहिराइ विवाद हालसम्म पनि कायमै रहेको छ । 

दोहोरो तथ्याङ्कका कारण हाल गहिरो ताल रारा भनेर उल्लेख गरिएपछि स्थानीय र डोल्पाका नागरिकले भने उक्त टोलीले पूराना मर्मत गरेका मेसिनले मापन गरी गलत तथ्याङ्क दिएको आरोप लगाइरहेका छन् । 

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र करीब ३६३५ मिटरको उचाइमा रहेका ५ दशमलव ९३ किलोमिटर लम्बाइ र एक दशमलव ८० किलोमिटर चौडाइ भएको फोक्सुण्डो तालको यथार्थ मापन र तथ्याङ्क आउनेमा विश्वस्त रहेको शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावासम्डुक गुरुङले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?