कछुवाको तालमा मुलपानी क्रिकेट मैदानको निर्माण काम

काठमाडौं । निर्माण शुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन ।

विसं २०६० पुसदेखि मैदान निर्माण शुरु भएको थियो । निर्माण शुरु भएको १६ वर्षसम्म मैदानको बीचमा पर्ने जग्गाको समस्या समेत समाधान हुनसकेको छैन । क्रिकेट मैदानभित्र पर्ने जग्गा निर्माण शुरु भएको नौ वर्षपछि पनि किनबेच भयो ।

विसं २०६९ मा किनेको जग्गामा बनेको घर अहिले हटाउन भनिएको फूलमाया लामाले बताए । 
 
कित्ता नं ४ सय १ र ४ सय ४ को तीन आना जग्गा मैदानमा पर्ने भएपछि घर न घाटको हुने दिन आएकामा उनले चिन्ता प्रकट गरे । मैदानको बीचमा ११ परिवारको ५२ आना जग्गा रहेको राष्ट्रिय खेलकूद परिषद्का तर्फबाट मूलपानीको संयोजन गरिरहेका राधाकृष्ण विष्टले बताए । 

 मूलपानीको २ सय ९६ रोपनी जग्गामा हाल दुई वटा मैदान अन्तिम चरणमा पुगेको उनले बताए । माथिल्लो मैदानमा गतवर्ष असारमा क्रिकेट प्रतियोगिता भएको थियो । तल्लो मैदानमा आज पहिलोपटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । 

 प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी १० समूह सहभागी भएको खेलकुद परिषद्सँगको सहआयोजना समूहमा रहेको नेपालय इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत आशिष प्रसाईंले बताए । 
 
प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य मणिराम फुयाँलले खेलकुदमा व्यावसायिक विकास हुनुपर्ने बताउनुभयो । मैदानको जग्गा शोधभर्नालगायत समस्या पनि समाधान हुनुपर्ने उनको भनाइ थियो । 
 
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिकालाई खेलकुदको  ‘हब’का रूपमा विकास गर्न लागिएको बताए । नगर क्षेत्रमा क्रिकेट मैदान, गल्फ कोर्सलगायतका महत्वपूर्ण खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुने गरेको उनले बताए । 
 
नेपाली काङ्ग्रेसका २ नं क्षेत्रीय सभापति उपेन्द्र कार्कीले २०६० पुस ९ गते साविकको मूलपानी गाविसका सबै राजनीतिक दलको सहमतिमा एशियन क्रिकेट एकेडेमी बनाउन स्थानीयवासीले सार्वजनिक जग्गा दिएको बताए । मैदानलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेगरी विकास गर्नुपर्नेमा उनले जोड दिए । 

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मैदानको उद्घाटन गर्ने भनी निमन्त्रणा कार्ड बाँडिए पनि नआएकोमा स्थानीयवासी नवराज आचार्यले दुःख व्यक्त गरे ।
 
मैदानको बाहिरी पर्खालमा तारजाली हालिएको छैन । मैदान र प्यारापिटबाहिरको खाली भागमा झाडी देखिन्छ । मैदानसँगै स्थानीय कविता तिमल्सिनाको घर छ । यहाँबाट सार्ने भनी सार्वजनिक जग्गा दिने निर्णय गरिए पनि त्यो ठाउँमा यसअघि यहीँबाट मुआब्जास्वरुप दुई लाख लिएर हिँडेका सुकुम्वासीले कब्जा जमाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?