१० लाख घूस लिएको आरोपमा इन्स्पेक्टर पक्राउ

काठमाडौं । घूसकाण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन पुगेका एक प्रहरी निरीक्षक दस लाख रुपैयाँ घूस लिएको आरोपमा  पक्राउ परेका छन्।

अख्तियारको टंगालस्थित कार्यालयले इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरका प्रहरी निरीक्षक लोबहादुर जिसीलाई मंगलबार पक्राउ गरेको हो। अख्तियार स्रोतका अनुसार जिसीलाई हिरासत लिएर अनुसन्धान गर्नुपर्ने देखिएकाले पक्राउ गरिएको हो। दस लाख रुपैयाँ घूस लिएर नक्कली चालक खडा गरी सवारी ज्यान मुद्दामा चालक नै परिवर्तन गरेको उजुरी उनीविरूद्ध परेको थियो।

अख्तियार स्रोतका अनुसार नवलपरासी गैंडाकोटमा गत वैशाख ११ गते भएको सवारी दुर्घटनामा जिसीले नक्कली चालक खडा गरेका थिए। बोधराज पाण्डेले चलाएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु र अर्का एक जना घाइते भएका थिए।

उक्त घटनामा पाण्डेको सट्टा किसुन महतोलाई चालक बनाएर प्रहरीले मुद्दा अदालतमा लगेको थियो। पाण्डे परिवारले नक्कली पीडक बनाउन जिसीलाई घूस दिएको उजुरी अख्तियारमा परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?