पाँचथर हत्या प्रकरण : २० दिन बित्यो, प्रयोगशालाबाट रिर्पोट आउनै अझै केहि दिन लाग्ने

२० दिन अगाडी सारा नेपाली रुवाउने खबर आयो ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा जेठ ६ गते राती दुई परिवारका नौ जनाको हत्या भयो ।

नेपाली मिडिया पुरापुर 'ब्रेकीङ' र 'फलोअप' स्टोरीले भरिए ।

सामाजिक अभियन्तादेखि मनोविद् र समाजशास्त्रीहरुले समाज कता जाँदैछ भन्दै जिब्रो टोके ।

सामाजिक सञ्जालमा अब नेपालीको मनमा मानवता भन्ने कुरा हराएको विषयमा गन्थनमन्थन भयो । तर दुई परिवारको ९ जनाको पाशविक तवरले हत्या भएको २० दिन बित्यो तर प्रहरीले अझैपनि हत्याराको किटान गर्न सकेको छैन ।

परिवारै सखाप पार्नेगरी गरिएको उक्त घटनामा कस्को हात छ  भन्ने विषयलाई लिएर  अनेकन अड्कलबाजीहरु भए ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–वडा नम्बर ७ मा हत्या भएको परिवारका कान्छा ज्वाई मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा शव फेला परेपछि उनैले हत्या गरेको प्रहरी र स्थानीयले अनुमान लगाए । 

मानबहादुर र हत्या भएको परिवारबीच सम्बन्ध बिग्रिएको कुरा बाहिर आउनु, हत्या भएलगत्तै उनले आत्महत्या गर्नु, आत्महत्या गरेको स्थान नजिकै रगतले लतपतिएको कपडा र हतियार भेटिनु र घटनामा बाँच्न सफल बालिकाले घटना भएको बेला एक जनालाई मात्र देखेको बयान दिनुले सामुहिक हत्यामा मानबहादुरकै संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान त्यतातिर सोझ्यायो । 

घटनामा मानबहादुरकै संलग्नता हुनसक्ने आधारहरु देखाएर प्रहरीले अनुसन्धान थालेको आज आज २० दिन बितिसकेको छ । हत्या भएको भोलिपल्ट मानबहादुर नै हत्या हुनसक्ने अनौपचारिक ‘किटान’ गरिए पनि हालसम्म वास्तविक हत्यारा को थिए भनेर प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।

घटना भएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०, जिल्ला प्रहरी कार्यालय पाँचथर, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली घटनास्थल पुगेको थियो । टोलीले अहिले विभिन्न कोणबाट घटनाकोे अनुसन्धान गरिरहेको छ । एक दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेको छ । 

 डिएसपी नरेन्द्र कुँवर भन्छन्, मानबहादुर माखिम  झुण्डिएको स्थान नजिकै भेटिएको खुकुरी, कपडा र मोबाइल परीक्षणको लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको जानकारी दिए । प्रहरीले अहिले त्यही परीक्षणको रिपोर्ट पर्खिरहेको छ । तर श्रीमती मनकुमारीसँग सम्बन्धबिच्छेद गर्नुपरेको झोकमा उनले ससुराली र साढुदाइको परिवारका नौ जनाको सामूहिक हत्या गरेको  प्रारम्भिक निष्कर्ष छ।    

यसैबिच  भागेर ज्यान जोगाएकी १२ वर्षीया बालिका सीता खुजुम छिमेकीको शरणमा छिन् । सिताको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ।

१२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश १ सरकारले लिएको हो। उनी शुक्रबारबाट सुनसरीको इटहरी उपमहानगरपालिका–१९ शहीद स्मृति आवासीय विद्यालयमा भर्ना गरिएको छ।   

 

घटनामा  ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूले ज्यान गुमाएका थिए । बमकुमार फियाक मानबहादुरका ससुरा हुन् । उनीहरूको घर १५ मिनेट पैदल दुरी रहेको छ ।
हत्यामा बमहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमलाई मुख्य अभियुक्त मानिएको छ। घटनाबारे प्रहरीले अझै अनुसन्धान जारी राखेको जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?