प्रदेशसभामा कांग्रेसको चर्को विरोधका बीच मनमोहन विश्वविद्यालय विधेयक पेश

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधका बाबजुद प्रदेश १ को प्रदेशसभा बैठकमा मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेश भएको छ । प्रदेशसभाको सामाजिक विकास समिति सभापति सरिता थेवेले कांग्रेसको विरोधा बाबजुद समितिको प्रतिवेदनसहित विधेयक प्रदेसभामा पेश गर्नुभएको हो ।

नेपाली कांग्रेसले भने विधेयक सच्याउन माग गर्दै रोष्टम घेराउ गरी नाराबाजी गरेको थियो । कांग्रेस सांसदको नाराबाजीबीच सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पेश गर्न सामाजिक विकास समिति सभापति थेबेलाई समय दिनुभएको थियो ।

सरकारले प्रदेशसभाको चालु अधिवेशनबाटै पारित गराउने तयारी गरेको उक्त विधेयक रोक्न कांग्रेसले लगातार संसद अवरोध गर्दै आइरहेको थियो ।

कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नर्स नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाएको छ ।

यसअघि गत सोमबार र मंगलबार पनि कांग्रेसले विधेयक सच्याउन माग गर्दै संसद अवरोध गरेको थियो । कांग्रेसले असोज १ गतेको बैठक पनि अवरुद्ध गरेपछि सभामुख भण्डारीले छलफलका लागि भन्दै ५ दिन संसद स्थगित गर्नुभएको थियो । तर यसबीचमा पनि सहमति नभएपछि प्रदेशसभाले कांग्रेसको अवरोधकै बीच विधेयक अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?