एनआरएनएको अध्यक्षमा आचार्यले औपचारिक उम्मेदवारी घोषणा आज गर्ने

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गर्ने जनाउनु भएको छ ।

आचार्यले मंगलबार (२४ सेप्टेम्बर) मा लन्डनमा आयोजित एक सभामा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्ने जनाइएको छ ।

आचार्यले ९ सुत्रीय एजेन्डासहित उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेको कुल आचार्य समूहका एक सल्लाहकारले जानकारी दिनुभएको छ ।

‘अध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा औपचारिक घोषणा कर्मभूमि लण्डनबाट गरिने छ,’ आचार्यलाई उदृधत गर्दै एक सल्लाहकारले भन्नुभयो , ‘तर, उहाँको प्रतिवद्धतापत्र कर्मभूमिबाट जारी गरिने छ ।’

आचार्यले काठमाडौंमा अर्को साता एक कार्यक्रमको आयोजना गरी विस्तृत प्रतिवद्धता पत्र जारी गर्ने बताइएको छ ।

यस्ता रहेका छन आचार्यका प्रतिवद्दताहरु

एनआरएनएको आगामी सम्मेलन एजेन्डाविहीन भएको टिप्पणी भइरहेको समयमा आचार्यले स्पष्ट दृष्टिकोणका साथ ९ सुत्रीय एजेन्डा अघि सार्न लाग्नुभएको छ ।

नेपालको आर्थिक विकास र समृद्धिमा विशेष योजदान गर्ने दृष्टिकोणसहितको नीति र कार्ययोजना प्रस्तुत गरिने आचार्यको तयारी छ ।
‘मातृभूमिको समृद्धिको राष्ट्रिय अभियानसँग विश्वभरि रहेका नेपालीहरुलाई जोड्नु छ, त्यसैले हामीले नेपालको विकास र नेपाली मूल्य–मान्यता, भाषा र संस्कृतिको प्रवद्र्धनका लागि विशेष योगदान गर्ने घडी आएको छ,’ आचार्यले बताउनुभयो ।

संविधानको मर्म अनुसार गैरआवासीय नागरिकता जारी गर्न निर्णायक पहल गर्ने प्रतिवद्धता आचार्यले व्यक्त गर्दै एक पटकका नेपाली सधैँका नेपाली भन्ने भावनालाई प्रतिनिधित्व गर्दै नागरिकताको विषयलाई टुंग्याइनु पर्ने बताउनुभयो ।

साथै आचार्यले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एनआरएनएमार्फत आफु लाग्ने प्रण गर्नुभएको छ ।
गैरआवासीय नेपाली संघको संस्थागत सुधार गरी केन्द्रीय सचिवालयलाई प्रभावकारी र कार्यमूलक बनाउने एजेन्डा पनि आचार्यले अघि सार्नुभएको छ ।

‘गैरआवासीय नेपालीहरुको बारेमा जानकारी संकलन गर्ने, कुनै समस्या भएमा तत्काल एक्सनमा जाने र त्यसको समाधान गर्ने तथा केन्द्रीय सचिवालयलाई अझै प्रभावकारी बनाउनै पर्छ,’ उहाँले भने, ‘मैले यस विषयमा विस्तृत कार्यक्रम निर्माण गरेको छु ।’

यसैबीच, गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिएपछि पूर्व केन्द्रीय अध्यक्षहरुले पनि सक्रियता बढाइरहनुभएको छ ।
पूर्वअध्यक्ष शेष घले लन्डन पुगेर गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको विषयमा अध्यक्षका प्रत्यासी कुल आचार्यसँग गम्भीर छलफल गरी रणनीति बनाएको बेलायतस्थित एक उच्च स्रोतले बताएको छ । अब एनआरएनएको नेतृत्वमा दूरगामी सोच बोकेको व्यक्तिलाई नै पु¥याउनु आवश्यक भएको भन्दै लोकतन्त्रवादी उम्मेदवार आचार्यलाई सहयोग गर्न घलेले आफु निकटहरूलाई निर्देशन दिएको बताइएको छ ।

अध्यक्षका प्रत्यासी आचार्यले घलेका साथै पूर्वअध्यक्ष देवमान हिराचन र वर्तमान अध्यक्ष भवन भट्टसँग पनि आगामी विश्व सम्मेलनमा कसरी जाने भन्ने विषयमा निरन्तर छलफल गरिरहनुभएका छन् ।

‘चुनावी रणनीति बनाउन हामी व्यस्त छौं, विश्वभरिका गैरआवासीय नेपालीहरुलाई समेट्ने गरी प्रतिवद्धता आउँदैछ, हामी अहिले निर्णायक चरणमा छौं,’ उपाध्यक्ष आचार्य निकट स्रोतले भन्यो ।

पूर्व अध्यक्ष घले, हिराचन तथा वर्तमान अध्यक्ष भट्टले यस पटक आचार्यलाई साथ दिने संकेत गरिसक्नुभएका छन् । संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछाने खुलिसकेका छैनन् । पूर्व अध्यक्ष लामिछाने अध्यक्षका अर्का प्रत्यासी कुमार पन्तको पक्षमा भएको भनिए पनि अहिले उनले ‘पर्ख र हेर’को रणनीति अख्तियार गरेको बताइएको छ ।

एनआरएनएका संस्थापक सचिव चिरञ्जीवी ढकालले संघलाई अझै प्रभावकारी ढंगले सञ्चालन गरिनुपर्ने अभिभारा रहेको बताउँदै आचार्य यसका लागि योग्य रहेको बताउनुभयो ।

आचार्य गैरआवासीय नेपाली संघ बेलायतको सदस्य हुँदै अध्यक्ष र गैरआवासीय नेपाली संघको युरोप संयोजक भएर कुशल नेतृत्व गरिसकेका आचार्य गैरआवासीय नेपाली समुदायबीच लोकप्रिय छवी बनाइसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?