नेकपालाई चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश : व्यक्ति भन्दा बलियो पार्टी संगठन चाहिन्छ

’जसले खोज्यो त्यसलाई पार्टी सदस्य बनाउन हुन्न’

 

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभागका प्रतिनिधि सू नान पिङले कम्युनिस्ट पार्टी निर्माण र त्यसमार्फत राज्य चलाउन अनुशासित, संगठित र बलियो संगठन हुनुपर्ने बताउनुभएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा नेता पिङले कम्युनिस्ट पार्टीमार्फत् सत्ता सञ्चालन गर्नका लागि व्यक्तिभन्दा संगठन ठूलो हुनुपर्नेमा जोड दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको संगठन संरचनाबारे जानकारी गराउँदै पिङले भन्नुभयो, ’समृद्ध चीन निर्माणको आधार भनेको चिनियाँ कम्युनिस्ट पार्टीको संगठन हो । विचार, राजनीतिक दृष्टि, अनुशासन, आर्थिक पारदर्शिता, पार्टीप्रतिको लगनशीलताका दृष्टिले बलियो पार्टी संगठन रहेकोले चिनियाँ कम्युनिस्ट पार्टी सफल बन्दै गएको छ ।’

नेता पिङले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नेदेखि माथिल्लो निकायमा पुग्न र सरकारी निकायमा प्रतिनिधित्व गर्ने हरेक व्यक्ति निर्वाचन मार्फत जाने गरेको जानकारी दिनुभयो । पार्टीको सदस्य बन्नका लागि वर्षेनी लाखौंले निवेदन दिने गरेको भएनि वार्षिक २० लाखलाई मात्रै सदस्यता दिन सकिएको उहाँको भनाई छ । निवेदन दिएका लाखौं सदस्यहरूमध्येबाट उत्कृष्टलाई मात्र जिम्मेवारी दिइँदै आएको नेता पिङको भनाई छ । पिङले कम्युनिस्ट पार्टीमा आस्था, विश्वास राख्दैमा र सदस्य बन्ने चाहना राख्दैमा सदस्य बनाउनुभयो । त्यसका लागि परीक्षामा पास हुनुपर्ने व्यवस्था सिपिसीले गरेको पनि उहाँले जानकारी दिनुभयो ।

नेता पिङले सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)मा हाल ९ करोड पार्टी सदस्य रहेको जानकारी पनि दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?