चिनियाँ कम्युनिष्ट पार्टीको सिद्धान्तलाई नक्कल नगरौं : नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले कसैको सिद्धान्तको नक्कल गर्न नहुने बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिङ पिङको विचारधारा नेकपाले अँगाल्न लागेको भनेर चर्चा चलिरहेका बेला प्रवक्ता श्रेष्ठले सबै किसिमका सिद्धान्त बुझ्नु राम्रो भएपनि नक्कल गर्नु भने गलत हुने बताउनुभएको छ ।

बुधबार माइक्रो ब्लगिङ साइट ट्विटरमा आफ्नो धारणा राख्दै प्रवक्ता श्रेष्ठले ’शी जिनपिङ्ग विचारधारा चीनको कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्तको महत्वपूर्ण हिस्सा हो, हाम्रो होइन’, उहाँले उल्लेख गर्नुभएको छ ’हामी कुनै पनि लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी र कम्युनिस्ट आन्दोलन र समाजको अनुभवबाट सिक्न तयार छौँ । तर हामी नक्कल गर्दैनौँ । यसमा कुनै पनि अलमलमा पर्नु जरुरी छैन ।’

हालै नेकपाको विदेश विभागले सी जिनपिङ विचारधाराबारे दुई दिनसम्म काठमाडौंमा छलफल चलाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको समेत आयोजनामा भएको यो कार्यक्रममा सी विचारधाराबारे लामो छलफल भएको थियो ।
पछिल्लो समय नेकपा नेतृत्वको सरकारले साम्यवाद ल्याउन अघि बढेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आलोचना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?