एनसेल कार्यालयमा बम विष्फोटन घटनामा संलग्न फरार अभियुक्त पक्राउ

काठमाडौं । २०७५ फागुन १० गते ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको बम विष्फोटन घटनामा संलग्न फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर लुभु बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका-१ घर भएका ४३ वर्षीय हितमान भन्ने नविन बिश्वकर्मा रहेका छन् । उक्त बिष्फोटनमा ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंह बहादुर गुरूङको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-३ बोझेपोखरीस्थित प्रदेश ३-०२-००३ प ५१३१ नम्बरको मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो ।

साथै उनको साथबाट नेकपा विप्लव समुहसंग सम्बन्धीत बिभिन्न प्रकारका दस्तावेज किताब, डायरीहरु तथा बिभिन्न कम्पनीको मोवाइल तथा सिम कार्डहरु समेत प्रहरीले बरामद गरेको छ ।
साथै २०७५ बैशाख ९ गते ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित तत्कालिन प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवको घर कम्पाउण्डमा बम विष्फोटन भएको घटनामा समेत निज बिश्वकर्मा संलग्न रहेको उक्त परिसरले जनाएको छ ।
पक्राउ बिश्वकर्मालाई आवश्यक कार्वाहीको लागि मंगलबार जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

साथै उक्त घटनामा संलग्न सुर्दशन भन्ने हेमन्त प्रकाश ओली २०७५ चैत ९ गते ललितपुर चापागाँउ ठेचोबाट पक्राउ परी बिष्फोटक पदार्थ (बम) विष्फोटन गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य बिरुद्दको कसुर र संङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?