मेलम्ची : एक वर्षको वाचा, सिनो हाइड्रोसँग यस्तो सम्झौता

काठमाडौं । डेढ दशकदेखि सर्वाधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ । निर्माण सुरु भएको १५ वर्ष अवधिमा पटकपटक विवादमा आएको यो आयोजना बनाउन अहिलेसम्म तीनवटा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो।

आइतबार चौथो ठेकेदार कम्पनी सिनो हाइड्रोसँग आयोजना कार्यालयले एक वर्ष्भित्रै सुरुङ निर्माण सक्ने सम्झौता गरेको हो । तीन दशकदेखिको हल्ला र डेढ दशकदेखिको विवादैविवादका कारण नयाँ सम्झौताअनुसार काम हुनेमा काठमाडौंवासी ढुक्क छैनन् ।

सम्झौताअनुसार सुरुङ निर्माणको काम भए अस्थायी हेडवक्र्स (बाँध) मार्फत मेलम्चीको पानी एक वर्षभित्र उपत्यकामा आउनेछ । आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले आयोजना र सिनो हाइड्रोबीच सुरुङ निर्माण एक वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएको जानकारी दिए ।

आयोजनाका अनुसार बाँकी काम सम्पन्न गर्न करिब साढे दुई अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान भएकोमा सिनो हाइड्रोले तोकेकोभन्दा झन्डै ३० प्रतिशत कम रकम कबोल गरेर ठेक्का सकारेको हो । सिनो हाइड्रोले हाल माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, तनहँु जलविद्युत् आयोजनालगायतमा पनि काम गरिरहेको छ । नागरिक दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?