काठमाडौं, २ माघ ।निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको तयारीबारे राजनीतिक दलहरुसँग परामर्श गरेको छ । निर्वाचन आयोगले मंगलबार प्रमुख पाँच राजनीतिक दलका नेताहरुलाई निर्वाचन आयोगमै बोलाएर राष्ट्रिय सभाको निर्वाचनको तयारीबारे परामर्श गरेको हो राष्ट्रियसभाको निर्वाचनको तयारीबारे राजनीतिक दलहरुसँग आवश्यक परामर्श गरिएको आयोगका सहसचिव नवराज ढकालले जानकारी दिनु भयो । त्यस अवसरमा आयोगले राजनीतिक दलहरुलाई राष्ट्रिय सभा निर्वाचनको निर्देशिका तयारीको विषयमा पनि परामर्श गरेको थियो । ३ दिन भित्र तयार हुने गरी आयोगले राष्ट्रिय सभाको निर्वाचनको निर्देशिका बनाउने कामलाई अघि बढाएको छ । सोही सम्बन्धमा पनि राजनीतिक दलहरुसँग परामर्श गरिएको आयोगले जनाएको छ । बैठकमा राजनीतिक दलका नेताहरुले मतपत्र मतदाता मैत्री बनाउन निर्वाचन आयोगलाई सुझाव दिएका थिए । आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने गरी तयारी गरिएको पनि स्पष्ट पारेको छ । आयोगका सहसचिव ढकालले निर्वाचन प्रभावित नहोस भनेर सरकार र राजनीतिक दलहरुलाई समेत प्रदेश प्रमुख तोक्ने काममा ढिलाई नगर्न पटक पटक आग्रह गरिएको पनि स्मरण गराउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया