बुटवल, ७ माघ – नेकपा (एमाले) को प्रदेश नं ५ को संसदीय दलको नेतामा प्रदेश सांसद शंकर पोखरेल चयन भएका हुनुभएको छ प्रदेश सांसदको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै एमाले ५ नं प्रदेश कार्यालय बुटवलमा बसेको संसदीय दलको बैठकले पोखरेललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो । ५ नं प्रदेशको एमाले संसदीय दलको बैठक ज्येष्ठ सदस्य कमल श्रेष्ठको अध्यक्षतामा बसेको थियो बैठकमा परासीका प्रदेशसभा सदस्य वैजनाथ चौधरीले दलको नेताका रुपमा पोखरेललाई प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावलाई रुपन्देही निर्वाचन क्षेत्र नं २ ‘ख’ का सदस्य लीला गिरीले सर्मथन गर्नुभएको थियो । त्यसपछि सबै प्रदेश सदस्यहरुले ताली बजाएर पोखरेललाई संसदीय दलको नेताको रुपमा सर्मथन जनाएका थिए संसदीय दलको नेता चयन भएसँगै पोखरेललाई ५ नं प्रदेशको मुख्यमन्त्री हुने बाटो खुलेको छ । संविधानको धारा १६८ मा संसदीय दलको नेता मुख्यमन्त्री हुने र प्रदेश मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था छ । संविधानतः प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने व्यवस्था रहेको छ संसदीय दलको नेता चयनपछि बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले ५ नं प्रदेश ऐतिहासिक हिसाबले अत्यन्तै महत्वपूर्ण रहेको भन्दै योजनाबद्ध विकास गर्न सकेमा मात्र समृद्ध र बलियो प्रदेश बनाउन सकिने बताउनुभयो उहाँले जनचाहना अनुरुप प्रदेशको योजनाबद्ध विकासमा एकलै नभएर सामूहिक प्रतिबद्धताको जरुरी रहेको बताउनुभयो । उहाँले आफ्नो ध्यान प्रदेशको विकासमा केन्द्रित हुने भन्दै त्यसका लागि जनचाहनालाई योजनाबद्ध विकासमा समेटेर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो बैठकमा एमाले उपमहासचिव तथा पार्टीका प्रदेश संयोजक विष्णु पौडेलले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित हुनुभएका पोखरेललाई बधाई दिँदै ५ नं प्रदेशको एकीकृत र योजनाबद्ध विकासमा आफ्नो पनि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया