काठमाडौं । उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमित मस्जितमा लुकेर बसेको थाहा भएको पछि मस्जित प्रहरीले सिल गरेको छ । मस्जितबाट थप कोरोना फैलिन नदिन उक्त मस्जित प्रहरीले सिल गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको मस्जितमा कोरोना संक्रमित भेटिएपछि संक्रमितलाई १ नम्बर प्रदेशको आइसोलेसनमा राखिएको छ । मस्जितबाट थप कोरोना फैलिन नदिन आवश्यक अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएको प्रहरीले बताएको छ ।
उदयपुरस्थित स्रोतबाट प्राप्त जानकारी अनुसार ३ महिना अघि सप्तरीको एक मस्जितमा कार्यक्रमका लागि ति मानिसहरु भेला भएका थिए । भारतबाट तीन महिना अघि आएका उनीहरु फेरी भारत नै फर्किएर करिब डेढ महिना अघि मात्र नेपाल आएको बताइएको छ ।
जिल्लामा थुप्रै मात्रामा मस्जितहरु रहेको र उनीहरुको त्यहाँ पनि भेला हुनको लागि गएको आशंका गरिएको छ । विभिन्न मानिसहरुले गरेको आशंकाको आधारमा ३ ४ दिन अघि मात्र प्रहरीले उनीहरु त्यहाँ रहेका छन् भन्ने खबर थाहा पाएको थियो । प्रहरीले उनीहरुको बारेमा जानकारी लिँदा लकडाउनका कारण समस्यामा परेर बताएका थिए । उनीहरुमा कोरोना संक्रमण भएको आशंकामा विराटनगरमा परिक्षण गरिएको थियो ।
त्यहाँ रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षणको लागि केन्द्रीय प्रयोगशाला काठमाडौंस्थित टेकु ल्याइएकोमा शुक्रवार उनीहरुमा कोरोना पुष्टि भएको हो ।
त्यहाँ भेटिएका १२ र चितवनमा भेटिएका २ जना तथा पहिलेका १६ जना संक्रमित गरी अब नेपालमा ३० जना संक्रमित पुगेका छन् । पहिलेका १६ मध्ये एकजना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक पेजमा उल्लेख गरेको छ ।
संक्रमित जिल्लाको त्रियुगा नगरपालिका वडा नं ३ स्थित भुल्के मस्जितमा लुकेर बसेका थिए । त्यहाँ लुकेर रहेको भन्ने सूचनाका आधारमा प्रहरीले सोधिखोजी गर्दा उनीहरुले केही बताउन मानेका छैनन् । त्यहाँ एकैदिन १२ जनामा कोरोना संक्रमित भेटिएपछि स्थानीय भने जोखिम बढेको भन्दै त्रसित भएका छन् ।
उदयपुरको ‘केस’ कसरी देखियो ?
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १२ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरु उदयपुरमा भेटिएका सबै १२ संक्रमित पुरुष हुन् । जसमा चार जना संक्रमित २८ वर्षका छन् भने बाँकी क्रमश ३४, २९, २६ वर्षका छन् त्यस्तै बाँकी २२, २५ ,२०, ४० र ३९ वर्षिय पुरुष हुन् ।
भुल्केस्थित मस्जिदमा केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिइएकोमा पोजेटिभ देखिएको हो । उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर लगिएको सबैको रिपोर्ट पोजेटिभ भेटिएको हो ।
चितवनको दुई केस
चितवनको राप्ती नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना पोजेटिभ देखिएका उनीहरु दुई पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक पेजमा यसअघि अपडेट गरिएको थियो । तर उसले केहि घण्टामा त्यो अपडेट सच्याउँदै चितवनको संक्रमित एक पुरुष र एक महिला भएको उल्लेख गरेको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो । स्रोतका अनुसार चितवनका दुई जना चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । उनीहरु दुवै जना पुरुष रहेको र उनीहरुको उमेर २७ र ६३ वर्षको रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । यससँगै अब नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।
भरतपुरपछि काठमाडौंमा जाँचिएको थियो नमूना
शुक्रबार कोरोना पुष्टि भएका उनीहरुको भरतपुरमा रहेको कोरोना भाइरस परीक्षण प्रयोगशालामा जाँच्दा बिहीवार राती आएको रिपोर्टले कोरोना पोजिटिभ देखाएको थियो । त्यसपछि राती नै पुनः परीक्षणका लागि स्वाब परीक्षणको लागि केन्द्रीय प्रयोगशाला काठमाडौंस्थित टेकु अस्पताल पठाइएको थियो । पूर्वी चितवनको राप्ती नगरपालिकाका ती कोरोना संक्रमितको अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचार भइरहेको छ । उनीहरुको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको छ ।
नेपालमा कतिजना ‘रेड जोनमा’ छन् ?
यसैबीच नेपालमा हालसम्म कोरोना भाइरस ‘कोभिड – १९’ साग मिल्दोजुल्दो देखिएका बिरामी ९जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेडजोनमा राखेको छ० ति बिरामीहरुको संख्या २ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार मन्त्रालयले स्वमूल्यांकनको आधारमा मानिसहरुको व्यक्तिगत विवरण अर्थात् जानकारीको आधारमा जोन छुट्टयाएकोमा हालसम्म २ सय ५१ जना रेड जोनमा परेका छन् गत २४ घण्टामा मात्रै २ जना मानिस रेड जोनमा परेका छन् ।
रेड जोनमा परेकाहरुको ‘ट्रेसिङ गर्ने’ र उनिहरुको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण भइसकेको पनि उनले बताए । मन्त्रालयको ‘मोबाईल एप’ र ‘वेव पेजमा’ मानिसहरुले आफ्ना लक्षणहरु जानकारी गराएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २४ हजार बढीको कोरोना परीक्षण भएको जनाएको छ ।
नेपालमा कतिजनाको परीक्षण भयो ?
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जनाएअनुसार डोल्पा र सोलुखुम्बु बाहेक ७५ जिल्लामा र्यापीड किट टेष्ट आरडीटी विधिबाट जाँच भइरहेको छ । डोल्पा र सोलुखुम्बुमा भने चाँडै आरडीटी टेष्ट सुरु हुनेछ ।
हालसम्म नेपालमा दुईओटा प्रविधिबाट जाँच गरिएको छ । सातै प्रदेशका विभिन्न ठाउँमा गरेर १४ स्थानबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण सुरु भएको छ।
पीसीआर घाँटीको स्वाबको परीक्षण हो । यसको नतिजा आउन ६ घण्टादेखि दुई दिनसम्म लाग्ने चिकित्सकले बताएका छन्। आरडीटी परीक्षणको रिपोर्ट भने १५ मिनेटमै सार्वजनिक गर्न सकिन्छ। तर नेपालमा केहि नमूनाहरु र्यापिड डाईग्नोस्टिग टेष्टबाट पोजेटिभ आएको र पीसिआरबाट नेगेटिभ आएको उदाहरण समेत छन् ।
डाक्टर देवकोटाका अनुसार पिसिआर प्रविधीबाट हालसम्म ७ हजार ६ सय ८८ वटा नमूना जाँच गरिएको छ । त्यस्तै र्यापिड डाईग्नोष्टिग टेष्ट आरडिटीबाट हालसम्म १६ हजार ५ सय ६५ जनाको टेष्ट भएको छ । हालसम्म २४ हजार २ सय ५३ जनाको टेष्ट गरिएको छ । गत २४ घण्टामा मात्रै ४ हजार ८ सय २२ जनाको नयाँ टेष्ट भएको छ ।
क्वारेन्टाईन कति ? आईसोलेसनमा कति ?
हालसम्म ४ हजार ६ सय ७ जना क्वारेन्टाईनमा बसेका छन् भने कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका ९० जना आईसोलेसनमा छन् । उनीहरुमध्ये ५ जना काठमाडौंमा छन् भने ८५ जना बाहिर जिल्लामा छन् । त्यस्तै मन्त्रालयको कल सेन्टरमा हालसम्म २६३२ वटा कोरोना सम्बन्धित जिज्ञाशा आएकोमा सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ ।
संक्रमितको अवस्था कस्तो छ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका यसअघि भेटिएका सबैको जना संक्रमितको अवस्था सामान्य भएको जनाएको छ । शुक्रबार दिउँसो ४ : १५ मा भएको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कोरोना भाइरस ‘कोभिड १९ का यसअघि भेटिएका १६ जना संक्रमितमध्ये १ जना निको भएर घर फर्किएका र बाँकी १५ जना संक्रमितको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका थिए । भर्खरै पुष्टि भएका ति संक्रमितको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया