आलेख : कोरानाको अधीनमा नेपाल र विश्व अर्थतन्त्र

लिरहेको महामारीको सन्त्रास र लकडाउनले गर्दा नेपालको अर्थतन्त्रमा ६ खर्ब रुपैयाँ बराबरको खुद क्षति अर्थतन्त्रले भोग्नुपर्ने अवश्यम्भावी भएको अर्थविद्हरूको आँकलन छ भने अर्थमन्त्री डा.युवराज खतिवडा २ खर्बको क्षति अनुमान गर्छन् । विश्व अर्थतन्त्रमा ९० खर्ब डलरको आर्थिक क्षति हुने भारतीय केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ ईन्डिया’ का गभर्नर शक्तिकान्त दासले बैशाख ५ गते भारतीय अर्थव्यवस्था, बैंकिङ दृष्टिकोण रणनीति र कार्यक्रमको घोषणा गर्दा बताए ।

९० खर्ब डलर भनेको जापान र जर्मनीको समग्र अर्थतन्त्र जोड्दा हुनेभन्दा पनि ठूलो परिमाण हो । भारतले भोग्नुपरेको अर्थतन्त्रको अभुतपूर्व क्षतिलाई ड्यामेज कन्ट्रोल गर्न उनले भा.रू. ५ खर्ब (ने.रु. ८ खर्ब) को प्रबद्र्धन प्याकेजको घोषणा गरे ।
विश्वका अग्रणी विकसित मुलुकहरूको समुह ‘जी–२०’ ले विकासशील तथा अल्पविकसित मुलुकहरूलाई दिएको कर्जाको भुक्तानी म्याद पर सार्नुको साथै ब्याज मिनाह गर्ने सहमति गरेका छन् ।

यसरी कर्जा सहुलियत पाउने मुलुकको संख्या ७६ र रकम २० अर्ब अमेरिकी डलर देखिन्छ । अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एशियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले पनि ड्यामेज कन्ट्रोल र क्षतिपूरणका रणनीतिक कार्यक्रम तथा बजेट तय गरेका छन् ।

नेपाल अझ गरिबीमा झर्दै

कृषिप्रधान अर्थतन्त्र भएको नेपालले कृषि व्यवसायलाई ध्वस्त बनाएको मूल्यमा मलजल गरेको वैदेशिक रोजगार र विप्रेषण (रेमिटान्स) भित्य्राउने पेशा कति पराश्रित र कमजोर देखियो भने वैदेशिक रोजगारीमा गएकाहरूको रोजिरोटी खोसिने लहर नै चलेपछि न कृषि न त विप्रेषणको दुरावस्था उत्पन्न भएको छ । कुल गार्हस्थ उत्पादनमा विप्रेषणको योगदान कृषिकै हाराहारीमा करिब ३० प्रतिशत पुगेको छ । पराश्रित अर्थतन्त्रको रुपमा यो भयानक चित्र हो ।

राष्ट्रिय अर्थतन्त्रमा स्रोतको रुपमा विप्रेषणको योगदान अधिकतम १५ प्रतिशतभन्दा माथि जान दिनु भनेको अर्थतन्त्रको जोखिम बढ्दै जानु हो । कृषि आत्मनिर्भर अर्थतन्त्रको द्योतक हो भने विदेशको रोजगारी र विप्रेषण आश्रित अर्थतन्त्रको द्योतक हो ।

कोरोना महामारीको परिणामस्वरुप विप्रषण गम्भीर परिमाणमा घट्ने स्वतः अनुमानमात्र होइन विदेशी मुद्रा सञ्चितीमा पनि ह्रास आई नेपाली मुद्राको स्वीकार्यता पनि घट्ने जोखिम छ । नेपाली मुद्रा कमजोर हुँदै अमेरिकी डलरको भाऊ अकासिएर अहिले नै एक डलर बराबर रु. १२८ भन्दा बढी नै भईसकेको छ । यो अरु बढेर यही आर्थिक वर्षभित्र एक डलर बराबर १५० रुपैयाँ पुग्ने अनुमान छ ।

आर्थिक वर्षको अन्तिम त्रैमासिक, यो बेला मुलुकको बजेट तर्जुमाको प्रक्रिया शुरू हुने र जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक अनिवार्यता छ । राजश्व असुलीमा यो वर्ष गम्भीर ह्रास आउने स्वतःसिद्ध छ । वर्षेनी अकाशिरहेको ब्यापार घाटा, यसवर्ष आयातमा कमि आउनाले ब्यापार घाटामा पनि कमि आउनेछ । हाल पनि आयात प्रायः रोकिएको छ ।

उपभोक्ताहरूले मागमा कटौती गरेपछि कतिपय वस्तु र सेवा सस्तो हुने स्वतः अनुमान छ । जस्तो कि कोरोनाले छोडेपछिको संसारमा मोटर गाडी तथा दुईपाङ्ग्रे सवारी, सून तथा सूनचाँदीका गहना, घर–जग्गा खरिद–बिक्री, मेशिनरी तथा घरायसी उपभोगका अन्य तयारी सामान वा मेशिनरीको मागमा निकै कमि आउने छ ।

नेपाल भ्रमण वर्ष राखिएको तर केही महिनापछि कोरोनाको संकट पार भए पनि महामारी र महामन्दीको कारण पर्यटक आगमनमा गम्भीर ह्रास आउने सम्भावनाले होटेल तथा पर्यटन व्यवसाय चलाउनेहरू गम्भीर सोचमा परिरहेका छन् । आर्थिक उपलब्धी र विकासको लागि परिस्थितिमात्र अनुकूल भएर पुग्दैन मनस्थिति पनि अनुकूल हुनुपर्छ । सामान्य लोकमनोविज्ञान र उत्साह नराम्रोसँग खल्बलिएको र निरासा असाधारण रुपमा बढेको वर्तमान अवस्थामा आममानिसमा काम गर्ने र आर्थिक गतिविधि चलाउने जोश र जाँगर मरेको अवस्था छ ।

मौलिक र ठोस संरचनागत स्वरुप नभएको नेपालको अर्थव्यवस्था आश्रित अर्थतन्त्र हो । वैदेशिक सहायता, ऋण, वैदेशिक रोजगारी तथा रेमिटान्समा निर्भर रहेको नेपालमा दैनिक उपभोगका जरुरी वस्तुहरूमा पनि आयातमाथि निर्भर हुनुपरेको छ । यस्तो अर्थतन्त्रलाई विश्व अर्थब्यवस्थाले स्वतः प्रभाव पार्छ र संकट तथा क्षति धान्ने क्षमता करिब समाप्त भईसकेको अर्थतन्त्रको रुपमा नेपालले अझ सिकिस्त अवस्था भोग्नुपर्ने अवश्यम्भावी छ ।

विश्व अर्थव्यवस्था

विश्वले इतिहासमै सबभन्दा विशाल र घातक आर्थिक मन्दी भोग्न शुरू गरेको छ । राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) को आँकलनअनुसार विकासशील मुलुकहरूको राजश्वमा न्यूनतम २ खर्ब २० अर्ब अमेरिकी डलरले ह्रास आउने छ । विश्वभरिकै उपभोक्ताहरू एकातिर उत्पादनशील काम छोडेर घरमै बस्नुपर्ने र अर्कातिर संकटकालनीन खरिद र जमाखोरी (प्यनिक बाईङ्) गर्नुले पनि लाक्षणिक रुपमा मन्दीको चरण प्रारम्भ भईसकेको बुझ्नु पर्दछ । कोरोना महामारी फैलिएको ३ महिना पुग्दा नपुग्दै विश्वकै बजार करिब ३५ प्रतिशत ठप्प भईसकेको छ ।

फेब्रुवरी यता स्टक बजारमा आएको गम्भीर गिरावटले पनि आर्थिक संकटलाई यकिन गरेको छ । यसलाई अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू मुद्रा कोष, विश्व र्बैक, एशियाली विकास बैंकहरूले २००८ को मन्दी र सन् १९३० को महामन्दीलाइ खप्टिँदा हुनेभन्दा ठूलो महामन्दी विश्वले भोग्नुपर्ने ठहर गरेर सो अनुरुपका रणनीतिहरू तय गरिरहेका छन् । महाशक्ति अमेरिका ३० को दशकमा आएको महामन्दीमा पनि नभोगेको उच्च बेरोजगारी यो महामारीमा भोग्न बाध्य छ । सन् १९३३ मा अमेरिकाको बेरोजगारी प्रतिशत करिब २५ प्रतिशत थियो भने हाल ३२ प्रतिशतभन्दा माथि पुगिसकेको छ ।

चीनको अर्थतन्त्र तुलनात्मक रुपमा सुरक्षित रहिहाल्यो भने पनि उसको युरोप, अमेरिका लगायत संसारभरि फैलिएको बजारमा हुने अभुतपूर्व महामन्दीले गर्दा चीनलाई पनि टिक्न दिँदैन । बजारमा माग घटेपछि पूर्तिकर्ता पक्ष जतिसुकै सबल भए पनि खुम्चिनु पर्ने आर्थिक नियमबाट चीन उन्मुक्त रहन सक्दैन ।

चीनको वार्षिक बृद्धिमा ह्रास आएर १९७० को दशकको बृद्धिदरको स्थितिमा पुग्ने परिसूचकहरूले देखाईरहेका छन् । होटेल, पर्यटन तथा हवाई यातायात व्यवसायलाई नराम्रो धक्का लागेको छ । यो वर्ष कार लगायतका हल्का सवारीको बिक्री चीनमा ८६ प्रतिशत र अमेरिकामा ४० प्रतिशत गिरावट आएको छ । सिनेमा तथा टीभी कार्यक्रम, थिएटर, खेलकूद, भोजभतेर तथा जमघटजस्ता क्षेत्रहरू पनि विश्वभरि नै थला परेका छन् । विश्वको शैक्षिक गतिविधिमा ९१ प्रतिशत ह्रास देखिन्छ ।

राजनीतिक उथलपुथल

यो महामारीबाट ज्यान गुमाउनेमा अमेरिकीहरू नै सबभन्दा बढी भएको, संक्रमित तथा बिमारीको संख्या पनि आफ्नै मुलुकमा सबभन्दा ठूलो संख्यामा भएको र यसबाट आफूमाथि जनआक्रोश नराम्रोसँग खनिने भएको बुझेपछि आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा त्यसले गम्भीर असर पार्ने निष्कर्षका साथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अवस्थाको दोष विश्वस्वास्थ्य संगठन (WHO) माथि मात्र खन्याएनन्, अमेरिकाले WHO लाई दिने ४० करोड डलरको संसद (काँग्रेस) द्वारा स्वीकृत सहायतालाई रोक्का गर्ने निर्णय पनि गरे । ४० करोड डलर रकम WHO को कुल बजेटको १५ प्रतिशत हो । यो निर्णयलाई लिएर विश्वभरिबाट विरोध त भएकै छ, मुलुकभित्र सत्तावृत्तमा समेत ठूलो विरोध भईरहेको छ । अमेरिकी संसदले स्वीकृत गरेको यो सहायता निर्णयलाई राष्ट्रपतिले रोकिदिएबाट अमेरिकाले अपनाएको राज्यका अंगबीचको नियन्त्रण, सन्तुलन र शक्ति वितरणको संवैधानिक पद्धतिलाई पनि उल्लङ्घन गरेको आरोप राष्ट्रपति ट्रम्पमाथि लागेको छ ।

चीनको हुवेई प्रान्त बाटमा फैलिएको महामारीका कारण जनस्तरबाट उठेको भयानक आक्रोशलाई भित्रभित्रै लुकाईयो । चीनको कम्युनिष्ट पार्टी तथा राष्ट्रपति सि चिन पिङ्तिर खनिन थालेको उक्त जनआक्रोशलाई तर्काउने र थामथुम पार्ने प्रयासस्वरुप प्रान्तीय तहका धेरै उच्चप्रशासकहरू कारवाहीमा परे र सेवाबाट हटाईए ।

ईरान, येमन, जोर्डन, मोरक्को र ओमनमा समाचारपत्र छाप्न र प्रकाशित गर्न नै प्रतिबन्ध लगाईएको छ । हंगेरीको संसदले प्रधानमन्त्री भिक्तोर अर्बानलाई अनिश्चित कालसम्मका लागि संकटकालीन आदेश जारी गर्ने अधिकार नै दिएको छ ।

अन्त्यमा :  कोरोना भाईरस ईतिहासमै सबभन्दा खतरनाक र चौतर्फी घातक महामारी भएकोले नेपालले यसबाट पार पाउन धेरै चरण पार गर्नुपर्ने भएको छ । महामारीको प्रकोप थामिएपछि त्यसले छोडेको दूरगामी असरसँग जुध्ने सामथ्र्यको विकास हाम्रो आजको आवश्यकता हो । आर्थिक संकट र मानिसको मनस्थिति खल्बलिएको अवस्थालाई उपचार गर्नु पनि जरुरी हुन्छ । जनतालाई सान्त्वना दिने र आसाको सञ्चार जगाउने कार्यक्रम तत्काल लागु गर्नुपर्छ । यस्तो यावत पक्षका लागि भनेर सुनाउने होइन गरेर देखाउने सरकार र संस्कारको जरुरत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?