काठमाडौं । कोरोना भारसको महामारीसँग लडिरहेको अमेरिकाको अवस्था डरलाग्दो छ । महामारीका कारण अमेरिकामा अहिलेसम्म ५० हजार २४३ जनाले ज्यान गुमाएका छन् भने ८ लाख ८६ हजार ७०९ जनालाई संक्रमण भएको छ ।
चीनको वुहान शहरमा ३१ डिसेम्बर सन् २०१९ मा देखिएको कोरोना भाइरसको प्रकोप अहिलेसम्म विश्वका २१० देशमा फैलिसकेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ९१ हजार ७५ जनाले ज्यान गुमाएका छन् भने २७ लाख २६ हजार २७४ जनालाई संक्रमण भएको छ ।
कोरोना भाइरसका कारण विश्वका अधिकांश देशहरुले लकडाउन गरेका छन् । जसका कारण मानिसहरुको मनोबल घट्दै गएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीविरुद्धको भ्याक्सिन बन्न लागेको संकेत दिएका छन् । उनले अमेरिका महामारीविरुद्धको भ्याक्सिनको नजिक पुगिसकेको बताएका हुन् ।
यो जानकारी दिँदा उनको साथमा अमेरिकाका उपराष्ट्रपति माइक पेन्स र ह्वाइट हाउसका कोरोना भाइरस टास्कफोर्सकेका ओर्डिनेटर डेबोरा बीरक्स उनीसँग थिए ।
ट्रम्पका अनुसार उनीसँग भ्याक्सिन बनाउने महान तथा तीव्र दिमाग भएका व्यक्तित्वहरु छन् । उनीहरु दुर्भाग्यवश परिक्षणको अत्याधिक नजिक छैनन् तर जब परिक्षण शुरु हुन्छ तब केहि समय लागेपनि भ्याक्सिन बनाएरै छोड्ने किसिमका छन् ।
अमेरिकाका प्रमुख इन्फेक्सियस डिसिज एडभाइजर डा. एन्थनी फोसीले यो भन्दा अगाडि नै व्यापक रुपमा प्रयोग गर्नका लागि एक टीका तयार पार्न १२ देखि १८ महिना लाग्ने बताइसकेका छन् । अधिकांश स्वास्थ्य विशेषज्ञहरुले एउटा टीका निर्माण गर्न १२ देखि १८ महिनासम्मको समय लाग्ने बताएका छन् ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले न्युयोर्क मेट्रो क्षेत्र, न्युजर्सी, कनेक्टिकट, डेट्रायट र न्यु ओरलियन्ससहित प्रमुख भाइरस हटस्पोर्टमा संकटको स्थिति देखिएको बताएका छन् ।
यो महामारीलाई बिस्तारै हराउँदै गएको उनले बताएका छन् । उनले भने, ‘हामी आगामि दिनमा भाइरसको महामारी रोक्ने प्रयाश जारी राख्नेछौँ, गर्मीको शुरुवातमा यो भाइरसलाई नियन्त्रण गर्न सकिन्छ ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया