काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेको छ ।
कोरोना भाइरस नियन्त्रणपछि नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभावका विषयमा पार्टी पदाधिकारी, अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग कांग्रेसले छलफल गरेको हो । कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्ने प्रभाव, कृषि क्षेत्र र औद्योगिक क्षेत्रको उत्पादनमा आउने कमिले पर्ने असरका विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कोरोनाको विश्वव्यापी असरका कारण विदेशमा रहेका नेपालीहरुको रोजगारी गुम्न सक्ने खतरा र त्यसले नेपाली रेमिट्यान्समा पार्ने प्रभावका विषयमा पनि छलफल भएको उनले बताए ।
अहिले सरकारले उपलब्ध गराएको राहत, त्यसको व्यवहारिकताका विषयमा पनि छलफल भएको छ । यस्तै प्रतिपक्षी दलले राहत वितरणमा कसरी सहजिकरण गर्न सक्छ र सरकार कसरी अगाडी बढ्दा उचित हुन्छ भन्ने विषयमा पनि छलफल भएको प्रवक्ता शर्माले बताए । कांग्रेसले कोरोना महामारीको विषम् परिस्थितिमा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेको छ ।
पार्टीका पूर्वस्वास्थ्यमन्त्री र चिकित्सकहरुसँग छलफल गरेको थियो । बुधबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया