काठमाडौं । शुक्रवार नेपालमा थप २ जानमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमित रुपन्देही निवासी २५ वर्षीय पुरुष तथा नेपालगञ्ज, बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यससँगै प्रदेश नं ५ मा पनि कोरोना भाइरस प्रवेश गरेको छ । यस भन्दा अघि अन्य ५ वटा प्रदेशमा कोरोना संक्रमण देखिएको थियो भने अब कर्णाली प्रदेश बाहेक सबैमा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा प्रदेश नं ३ अर्थात बाग्मती प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको थियो । त्यसपछि क्रमश गण्डकी, सुदूर पश्चिम प्रदेश, २ नम्बर प्रदेश र १ नम्बर प्रदेशमा संक्रमण देखिएको थियो । भने शुक्रवारबाट प्रदेश ५ मा पनि कोरोनाको प्रवेश भएको छ ।
त्यसमध्ये प्रदेश १ को उदयपुरमा २८ जना, भोजपुरमा १ जना र झापामा २ जना गरी ३१ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै प्रदेश नं २ को पर्सामा ६ जना, बारामा २ जना, रौतहटमा ३ जना र सर्लाहीमा १ जना गरी १२ जना संक्रमित रहेका छन् ।
प्रदेश ३ अर्थात बाग्मती प्रदेशको काठमाडौंमा ५ र चितवनमा २ गरी ७ जनामा संक्रमण देखिएको छ।
त्यस्तै प्रदेश नं ४ अर्थात गण्डकी प्रदेशमा २ जना संक्रमित देखिएका हुन्। उनीहरु दुवै वाग्लुङका हुन् जो उपचारबाट ठीक भएर फर्किसकेका छन्।
त्यस्तै सुदूरपश्चिम प्रदेशको कैलालीमा ४ तथा कञ्चनपुरमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ जना पुगेको छ । भने हालसम्म कोरोना उपचारपछि १६ जना निको भएर घर फर्किएका छन् । साथै उपचाररत ४३ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया