काठमाडौं । आइतवार बसेको मन्त्रीपरिषद्को बैठकमा लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालीहरुको विषयमा छलफल भएको छ ।
बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने विषयमा चासो राखेका थिए ।
लकडाउनका कारण भारतको चण्डीगढ राज्यमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र उनीहरु नेपाल आउन चाहन्छन् । अन्यत्र पनि अलपत्र परेका नेपालीहरुको संख्या बढ्दो छ भन्ने विषयमा मन्त्रीले प्रधानमन्त्रीलाई बैठकमा रिपोर्टिङ गरेका थिए ।
तर उक्त विषयमा प्रधानमन्त्रीले त्यति वास्ता गरेनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल त्यहाँको अवस्था त्यति धेरै गम्भीर नभएको भन्दै लोकप्रिय कुरा मात्र नहुने प्रतिक्रिया दिए । साथै १२ सय मान्छे ल्याउने निर्णय गर्दा २ हजार आउने भन्दै उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्णसमेत बताएका छन् ।
भारतमा लकडाउनका कारण धेरै नेपाली अलपत्र अवस्थामा रहेका छन् । साथै घर आउनको लागि सिमानामा रहेका मानिसहरु पनि त्यतिकै मात्रामा रहेका छन् । उक्त कुरालाई उद्धृत गर्दै सिमानामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको प्रधानमन्त्रीले तर्क व्यक्त गरे ।
साथै भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया