अध्ययनको निस्कर्ष : कोरोनाबाट बच्न २०२२ सम्म भौतिक दूरी कायम गर्नैपर्छ

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रकै ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ५२ हजार ७४६जनाको मृत्यु भईसकेको छ भने ३६लाख ६२ हजार २५२ जनालाई संक्रमण भएको छ । नेपालमा पनि अहिले कोरोना भाइरसको महामारी जारी रहेको छ ।

अहिलेसम्म नेपालमा ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १६जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको महामारी फैलिनबाट रोक्नका लागि सरकारले विभिन्न उपायहरु बताईरहेको छ । सोसल डिस्टेन्सको पालनाका साथै एकै ठाउँमा भेला भएर नबस्ने, बेलाबेला थोरैमा २० सेकेण्डसम्म साबुन पानीले मिचिमिचि हात धुने जस्ता नियम अपनाउनु पर्ने आवश्यकता रहेको बताएको छ ।

यसैबीच एक अध्ययनले भने सन् २०२२ सम्म नैसामाजिक दूरी बनाइराख्न आवश्यक रहेको सुझाएको छ । अध्ययनले कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निस्कर्ष निकालेको छ ।

अमेरिकास्थित क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा लगभग सन् २०२२ सम्म रहिरहने देखाएको हो ।

विश्वविद्यलायका स्टेफन किसलरको नेतृत्वमा रहेको टोलीले कोरोना भाइरसको चरित्र, सर्ने प्रवृत्ति, क्षमतालगायतलाई आधार मानेर यो निस्कर्ष निकालेको बताएको छ ।

विश्वका २१२ देशमा फैलिसकेको कोरोना भाइरसको प्रकोपलाई विश्वभरीबाटै निर्मुल पार्नु ठूलो चुनौतीपूर्ण कार्य भएको र अहिलेको चरणमा नियन्त्रण जस्तो देखिएपनि अर्को चरणमा पुनः फैलिनसक्ने पनि उनीहरुले अनुमान गरेको कुरा सीएनएनले जनाएको छ ।

अनुसन्धानकर्ताहरुले कोरोना भाइरस विरुद्धको कुनै खोप नआएमा वा त्यसलाई नियन्त्रण गर्ने कुनै उपाय सृजना नभएसम्म सामाजिक दूरी कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक दूरी कायम गर्नु वा उच्च निगरानीमा रहेर उपचार गराउनु नै यसबाट बच्ने मुख्य उपाय भएको अनुसन्धानकर्ताहरुले आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनीहरुले उच्च सतर्कतासहितको उपचार सेवालाई सबै देशले थप विस्तार गर्नु पर्नेमा पनि जोड दिएका छन् ।

अध्ययनकर्ताहरुले सन् २०२४ सम्ममा मात्र कोरोना भाइरस विरुद्ध सजिलै लड्न सक्नेगरी व्यवस्थापन हुने अनुमान गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि औषधी वा खोप तयार नहोउन्जेलसम्म यो रोगको जोखिम रहिराख्ने जनाएको छ । संगठनले विश्वभरी दर्जनौ वैज्ञानिकहरुले खोप तयार पार्न परिक्षण र प्रयासहरु जारी राखेको पनि जनाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?