नेपालगञ्जमा २ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । नेपालगञ्जमा मंगलवार २ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। मंगलवार मात्रै त्यहाँ ७ जनामा कोरोना संक्रमण देखिएसँगै सुरक्षा सतर्कता अपनाइएको छ ।

पछिल्लो समय कोरोनाको ‘हटस्पट’ बनेको नेपालगञ्जमा मंगलबार बिहानमात्रै नेपालगन्जको त्रिभुवन मोडभित्रको पुरानो सिनेमा हल नजिकै प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो।

व्यापारीले त्यस क्रममा प्रहरीको एउटा भ्यान समेत तोडफोड गरिदिएका थिए ।

अहिले त्यहाँ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी २ हजार ५ सय ५६ जना सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

लकडाउन सुरू भएदेखि नै नेपाली सेना प्रयोग हुँदै आएको भए पनि मंगलबारदेखि त्यसमा दोब्बरले वृद्धि भएको हो ।

यसअघि ४० जना जति सेना परिचालन गरिएकोमा मंगलबारदेखि एक कम्पनी अर्थात् एक सय २० को टोली परिचालन गरिएको छ ।

शुक्रवारयता मात्रै नेपालगन्जमा २३ जना संक्रमित फेला परेपछि चेकजाँचमा निकै कडाइ गरिएको छ।

नेपालगन्जमा बिहान ११ बजेदेखि स्थानीय प्रशासनले २५ गते मध्यराति सम्म निषेधित क्षेत्र घोषणा गरेको छ।

अहिले त्यहाँ एम्बुलेन्स, स्वास्थ्यकर्मी, विद्युत, इन्टरनेट र प्रेसबाहेक अरू कसैलाई हिँड्डुल गर्न र सवारी चलाउन प्रतिबन्ध लगाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?