काठमाडौं । प्रदेश नम्बर २ का ८ वटै जिल्ला भारतको सीमासँग जोडिएकाले यस प्रदेशलाई सरकारले अति जोखिमपूर्ण सूचीमा राखेको छ ।
संघीय सरकारले कोरोना संक्रमण फैलन सक्ने खतराको दृष्टिगत गर्दै अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारी रुपमा अगाडि बढाउने भएको छ ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेको कारण प्रदेश नम्बर २ को ८ वटै जिल्लामा लकडाउनलाई प्रभावकारी रुपमा लागू गरी सीमा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।
भारतीय सीमासँग जोडिएको प्रदेश २ का ८ जिल्लाको लम्बाइ ४ सय २८ किलोमिटर रहेको प्रदेश नम्बर २ प्रहरी कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ सय २९ वटा चेक प्वाइन्ट खडा गरी सीमा क्षेत्रको आवतजावतमा व्यापक कडाइ गरिएको छ ।
खुल्ला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रदेश प्रहरी कार्यालयले सीमानाकामा चेक प्वाइन्ट खडा गरी निगरानी बढाएको छ । लकडाउनलाई सफल पार्न प्रहरीले कडाइ गरेपछि सामाजिक दूरी कायम गर्नेमा सुधार हुँदै आएको प्रहरीले जनाएको छ ।
प्रदेश नम्बर २ मा अहिलेसम्म कोरोना पोजेटिभको संख्या १० रहेको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किएका थिए । तर उनको आरडिटी परीक्षण गर्दा पुनः कोरोना पोजेटिभ देखापरेपछि अहिले उनको पनि उपचार भइरहेको छ । संक्रमितहरुको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया