लकडाउन लम्बिएसँगै सर्वाेच्चले सेवा प्रवाहलाई खुकुलो बनायो

काठमाडौं । सर्वोच्च अदालतले सेवा प्रवाहलाई विस्तारै खुकुलो बनाउँदै गएको छ । कोरोना जोखिम कम गर्न सरकारले लकडाउनको समय बढाउँदै लगेसँगै सेवालाई खुकुलो बनाउन थालेको हो ।

नेपालमा लकडाउन शुरु भएसँगै सर्वाेच्चले बन्दी प्रत्यक्षीकरण रिट र कोरोनासँग सम्बन्धित मुद्धामात्र सुनुवाई गर्ने निर्णय गरेको थियो ।

सर्वाेच्चका प्रवक्ता भद्रकाली पोखरेलले आइतवार एक विज्ञप्ती जारी गर्दै लकडाउन लम्बिँदै गएपछि स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सर्वोच्च अदालतमा सेवा प्रवाह बढाउन लागेको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, “नेपाल सरकारबाट बन्दाबन्दी (लकडाउन)लाई निरन्तरता दिँदै २०७७ साल जेठ ५ गतेसम्म अवधी थप गरेको हुँदा सर्वाेच्च अदालत लगायत सबै तहका अदालत र न्यायधिकरणहरुबाट सम्पादन हुने कामकारबाही र सेवा प्रवाहका सम्बन्धमा यस अघिको पूर्ण बैठकको निर्णय बमोजिमको व्यवस्थापनलाई निरन्तरता दिने” ।

सर्वोच्चको आइतबार बसेको पूर्ण बैठकले सोमबारदेखि नेपाल सरकार निवेदक भएको मुद्धा दोहोर्‍याइ पाउँ भन्ने निवेदन, पुनरावेदनको अनुमतिको निवेदन र विपक्षी झिकाउने आदेश भइनसकेका नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन तथा साधक जाँचका लागि आएका मुद्धाको सुनुवाई सुरु गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?