कोशी अस्पतालबाट थप २ कोरोना संक्रमित उपचारपछि घर फर्किए

विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ थप दुईजना बिरामी आज साँझ निको भई आज घर फर्केका छन् । घर फर्केनेमा भोजपुर जिल्ला हतुवागढीका–६ का २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् ।

यसअघि केन्द्रबाट गत सङ्क्रमितहरु वैशाख २४ गते ६ र वैशाख २६ गते आठजना निको भई घर फर्किसकेका छन् । घर फर्कने राई गत वैशाख १३ र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो दुईपटक गरिएको थ्रोट स्वाब (पिसिआर) परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले बताइन ।

राईले गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएको बताए भने झापा बाह्रदशीका आलमले फागुन २७ गते भारतबाट घर आएको जानकारी दिए । दुवै जनाले अस्पताको निर्देशनअनुसार आफ्नो गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा १४ दिन बस्ने बताएका छन् ।

राईले भोजपुरको घोडेटारमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्ने बताए । उनले तत्काल परिवारको सम्पर्कमा नजाने बताउँदै आफ्नो कारणले अरूलाई सङ्क्रमण नफैलियोस् भन्नका लागि तोकिएको समयसम्म क्वारेन्टाइनमा बस्ने जानकारी दिए ।

यसैगरी आलमले सरकारले लागू गरेको बन्दाबन्दी र सामाजिक दूरी कायम गरेमा यो महामारीबाट बच्ने एकमात्र उपाय भएकाले सबैलाई पालना गर्न आग्रह गरे । उनले बाह्रदशी पालिकाअन्तर्गत घरमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्ने बताए । आलमले उपचारका क्रममा केन्द्रमा स्वास्थ्यकर्मी सहयोगी हुनाका साथै मागअनुसार सामग्री व्यवस्थापन समितिले उपलब्ध गराएकामा सबैलाई धन्यवाद दिए ।

अस्पतालबाट ‘डिस्चार्ज’ भएका दुवै जनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापन समिति संयोजक ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गरेका थिए ।

सचिव पन्थले दुवैलाई तोकिएको समयसम्म नियमको पालना गरी क्वारेन्टाइनमा बस्न सुझाव दिए । केन्द्रबाट सङ्क्रमित निको भई आज दुईजना गरी जम्मा घर फर्कनेको सङ्ख्या १६ पुगेको छ । केन्द्रमा शनिबार तीन र आइतबार एक गरी जम्मा १९ जना सङ्क्रमितको उपचार भइरहेको सुपरिटेन्डेन्ट डा मिश्राले बताइन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?