बर्दियामा पहिलो पटक देखियो कोरोना, नेपालमा आजै थपिए २४ संक्रमित

काठमाडौं । बर्दियामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । सोमवार साँझ बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै बर्दियासहित कपिलवस्तुका ६, रुपन्देहीका ६ जना गरी १३ जनामा सोमवार साँझ कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको स्रोतले जनाएको छ । मन्त्रालयको विज्ञप्तीमा लेखिएको छ – ‘संक्रमित बर्दिया, राजापुर- ५ निवासी ११ वर्षीया महिला हुनुहुन्छ।’

आज विहान कपिलवस्तुमा १० र सर्लाहीमा १ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यससँगै सोमवार मात्रै नेपालमा एकैपटक २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । भने ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना महामारीबाट बच्न सरकारले लकडाउनको नीति अपनाए पनि लुकिछिपी भारतबाट नेपाल प्रवेश गरेकाहरुमा धमाधम संक्रमण देखिन थालेपछि कपिलवस्तु जिल्ला सिल गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (सोमबार) दिउँसो दिएको जानकारी अनुसार हालसम्म नेपालमा पिसीआर विधीबाट १७ हजार ८ सय ९ जनाको कोरोना परीक्षण गरिएको छ । केहि दिनअघि विदेशबाट परीक्षणको लागि किट ल्याएसँगै परीक्षणको दायरा पनि बढेको छ । त्यस्तै आरडिटी विधीमार्फत् हालसम्म ५८ हजार ५ सय ४६ जनाको परीक्षणगरिएको छ । गत २४ घण्टामा मात्रै २ हजार ७ सय ९९ वटा जाँच गरिएको छ ।

आरडिटी विधीमार्फत् प्रदेश १ मा ७ हजार ७ सय ३७, प्रदेश २ मा ५ हजार ९ सय २७, वाग्मती प्रदेशमा ९ हजार २ सय ९०, गण्डकी प्रदेशमा ६ हजार ४ सय ८४, प्रदेश ५ मा ६ हजार ९ सय ८५ कर्णाली प्रदेशमा ७ हजार १ सय १४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ९ वटा परीक्षण गरिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार हालसम्म नेपालमा १२ हजार ७ सय १ जना क्वारेन्टाईनमा बसेका छन् । प्रदेश १ मा १ हजार ४७ जना, प्रदेश २ मा १ हजार ५ सय १७ जना, वाग्मती प्रदेशमा १ सय १८ जना, गण्डकी प्रदेशमा ३ सय १६ जना, प्रदेश ५ मा ४ हजार ९ सय ८५ जना, कर्णाली प्रदेशमा १ हजार ७ सय ४५ जना र सुदूपश्चिम प्रदेशमा ३ हजार १५ जना रहेका छन्।

त्यस्तै आईसोलेसनमा हुनेको संख्या हालसम्म १ सय ५३ हो । त्यसमध्ये प्रदेश १ मा २४ जना, प्रदेश २ मा ३९ जना, वाग्मती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा १ जना प्रदेश ५ मा ६३ र काठमाडौंमा १ जना गरी १५३ जना शंकास्पद बिरामी उपचाररत छन् ।

प्रवक्ता देवकोटाले दिएको जानकारीअनुसार हालसम्म आफूलाई कोरोना भाइरस ‘कोभिड – १९’ सँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै मन्त्रालयको वेवसाईटमा विवरण भराउनेको संख्या ३४ हजार ५ सय १९ रहेको छ । गत २४ घण्टामामात्रै यसरीफारम भर्नेको संख्या २ सय ६२ रहेको छ । गत २४ घण्टामा २ जना रेड जोनमा परेका छन् । मन्त्रालयको विवरणअनुसार हालसम्म ३ सय ४२ जना रेड जोनमा परेका छन् । तिनको कन्ट्र्याक ट्रेसिङ गर्न थालेको मन्त्रालयले जनाएको छ ।

विश्वभर स्वास्थ्य चुनौतिको रुपमा देखा परेको महामारीबाट बच्न सरकारले लकडाउनको नीति अबलम्बन गरेतापनि रातारात भारतिय भूमिबाट नेपाल प्रवेश गरेका व्यक्तिमा कोरोना संक्रमण देखिनु र भारतमा संक्रमितको संख्या बढ्नुले नेपालमा अर्को चुनौति पनि थपिएको अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?