युएईको अप्ठ्यारो प्रस्ताव, नेपालले स्वीकार्ला ?

काठमाडौं । लकडाउनका कारण समस्यामा युएइमा रहेका नेपालीहरुलाई युएई सरकारले नेपाल पठाउन नेपाल सरकारलाई प्रस्ताव पठाएको छ । तर सरकारले भने हालसम्म विदेशमा रहेका नागरिक ल्याउन बारे कुनै किसिमको योजना सार्वजनिक गरेको छ ।

रोजगारीको शिलशिलामा युएईमा धेरै नेपालीहरु रहेका छन् । लकडाउका कारण इच्छा हुँदा हुँदै पनि धेरै नेपालीहरु घर आउन चाहिरहेका छन् । यस्तो अवस्थामा नेपालले आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गरेका कारण यूएई आफैंले उनीहरुलाई नेपाल ल्याएर छाड्नेसमेत जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् । यसै प्रसंगमा उनले भने, “दुई वटा विमान आउने जानकारीसहित पत्र आएको छ । तर नेपाल भने अझै पनि उनीहरुलाई आउन दिने पक्षमा छैन ।” सो स्पष्ट पार्दै उनले भने, “तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था छैन ।”

यस्तो अवस्थामा आफुले पनि ल्याउन नसक्ने साथै सम्बन्धित मुलुकले नै ल्याइदिने हुँदा समेत स्वीकृति दिन नसक्ने अवस्थामा नेपाल सरकार रहेको देखिएको ज्ञवालीले बताए । नेपालले यसरी आउन दिन थाल्ने हो भने श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना तुरुन्तै फर्काउनुपर्ने अवस्था रहेको उनले बताएका थिए । लकडाउनका कारण विभिन्न देशमा अलपत्र परेका नागरिकहरुलाई अन्य देशहरुले प्लेन चार्टड गरेर स्वदेश फर्काइरहेको अवस्थामा नेपाल सरकार कमजोर देखिएको छ ।

विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५३० नेपाली स्वदेश फर्किन चाहिरहेको तथ्यांकले देखाएको छ ।

नेपालमा कुल ग्राहस्थ्य उत्पादनको ठुलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । तर अफ्यारोमा परेका नेपालीहरुलाई सरकारले वेवास्ता गरेको भन्दै उनीहरुले आलोचना समेत गरिरहेका छन् ।

भने छिमेकी राष्ट्र भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन् । ति सबैलाई आउन नदिने संकेत गर्दै ज्ञवालीले भने, “साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी अघि बढेको छ ।”

अन्य देशका नागरिकलाई सरकारले प्लेन पठाएर धमाधम स्वदेश फर्काइरहेको अवस्थामा नेपाल सरकारले वेवास्ता गरेको भन्दै विदेशमा रहेका नागरिकहरु आक्रोशित बनेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरसको कारण लकडाउनमा फसेका तीन सयभन्दा धेरै भारतीयलाई दुबईबाट फिर्ता ल्याइएको छ । बिहीबार दुई वटा उडानमार्फत सबै जना केरल पुगेका थिए र उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?