काठमाडौं – नेकपा सरकारले आफ्नो तेस्रो नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठकमा २ घण्टा ३० मिनेट लगाएर सार्वजनिक गरेको नीति तथा कार्यक्रममा २७६ बुँदाहरु सहित को ६३ पेजको नीति तथा कार्यक्रम रहेका छन् ।
विश्व कोभिड १९ को संक्रमणले आक्रान्त रहेको अवस्था र नेपालमा समेत करिब २ महिनाको लकडाउनपछि सरकारले ठूलो लगानी स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा गर्ने संकेत शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गरेको छ । नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आगामी बजेटमा ठूलो लगानीको संकेत गरिएता पनि कोरोनाबाट अर्थतन्त्रमा परेको असरलाई कसरी न्यूनिकरण गर्ने त्यसको स्पष्ट खाका दिन सरकारले सकेको छैन ।
सरकारको स्वास्थ्य क्षेत्रको पूर्वाधारमा व्यापक लगानी गर्ने तयारीलार्इ हेर्दा आगामी वर्षको बजेटको आकार १६ खर्ब भन्दा पनि अधिक रहने देखिन्छ ।
सर्वसाधारण लगायत सम्पूर्ण नीजि क्षेत्रको आशा सरकारले अब प्रस्तुत गर्ने प्याकेजमा थियो तर शुक्रबार सदनमा प्रस्तुत नीति तथा कार्यक्रममा यस्तो कुनै कार्यक्रमको छनक देखिएन । कोरोनाका कारण तहसनहस भएका उद्योग व्यवसायका लागि कार्यक्रममा राहतको सामान्य शब्द पनि उल्लेख छैन। केन्द्रिय बैंकले उद्योग व्यवसायका लागि दुई प्रतिशत बैंक ब्याज घटाउने सहित गरेको पहललाइ नै नीति तथा कार्यक्रममा बढाई चढाई गरेर प्रस्तुत गरिएको छ । लामो समयसम्म राहतको विशेष प्याकेजका लागि पहल गरिरहेका उद्यमी, व्यवसायीहरुलाई यसले अवश्य निराश पार्ने नै छ ।
सरकारले कुनै राहत प्याकेज घोषणा नगरेको भन्दै सबै उद्योग व्यवसाय बन्द गर्ने तयारी उद्योगीले गरिरहेका उद्यमी, व्यवसायीहरुलार्इ शुक्रबार सदनमा प्रस्तुत नीति तथा कार्यक्रमले थप आन्दोलित बनाउने निश्चित देखिन्छ । रेल देखि पनि जहाज, स्याटेलाइटदेखि पेट्रोलियम पदार्थ अन्वेषण जस्ता सपना र समृद्धिका नाराले विगत तीन वर्षदेखि सरकारको नीति तथा कार्यक्रममा स्थान त पाएको छ तर कोरोनाले करिब २ महिना देखि थिलथिलो भएको अर्थतन्त्र उकास्ने कार्यक्रम प्रस्तुत गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार असफल देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया