वित्तीय संकट वैदेशिक रोजगारी र विप्रेषण आप्रवाह

डा. रामप्रसाद दाहाल/ काठमाडौं  विश्वनै कोरोना भाइरससँग लडिरहँदाको अवस्थाभित्र आर्थिक गतिविधि पनि लकडाउन जत्तिकै भएको छ । चलायमान अर्थतन्त्र ठप्प भएको छ । विश्वका सरकारहरु आफूले आर्थिक हैसियत गुमाउनुपर्ने चिन्तामा चिन्तित देखिन्छन् ।

अर्थतन्त्र उकास्ने र आर्थिक प्रतिस्पर्धामा दौडिरहेका विकसित देशहरु पनि कुन विधिबाट अर्थतन्त्रलाई खस्न नदिने अनि जनतालाई सुरक्षित राखी आर्थिक समृद्धितर्फ लाग्ने भन्ने विषयमा निकै गहन छलफल र सुझाव लिइरहँदा पनि आस्थाका आयामहरु भाँचिरहेको अवस्था सृजना भइरहेको छ । त्यसको मूल कारण हाल कोरना भाइरस नै देखिएको छ ।

कोरोनाको जीवनभित्र राष्ट्र अनि मानवीय मूल्य पनि आँशुभित्रका अक्षर बन्दैछन् । विश्व मानव जीवनका भावतरङ्गहरु आइसोलेशन र क्वारेन्टाइनमा छचल्किरहेका छन् । अनि आस्थाका आयामहरु एक पछि अर्काे भत्किँदै छन् । कोभिड–१९ यस्तो भएर आएको छ— अब त अन्त्यहीन अन्त्य जस्तो लाग्न थालिरहेको छ । कोरोना मुक्त भनेको मुखको छिटा नसुक्दै चीन र कोरियामा फेरि कोरोना भनेको सुन्दा त प्रयास र प्रारम्भ पनि लिराखिर भएजस्तो छ ।

सूक्ष्मता र परिस्कारको निको पार्ने औषधि अझै खाँचो देखिएको छ । आँखाभरि र मनभरि खेलिरहेको आसाको दियो पनि अब त झन् मृत्युको सम्मुखमा उभिएजस्तो लाग्दछ । मानव सभ्यतालाई ध्वस्त पार्न कुनै न कुनै प्राकृतिक प्रकोप ओर्लिरहन्छ माल्थसले भने झैँ ।

कतै सङ्क्रमण, कतै भुइँचालो, कतै बाढिपहिरो सामा दुःखद मृत्यु । अमेरिका, इटली, स्पेनमा देखिएका लासका चाङले कोभिढ–१९ त्यस्तो महामारी लाग्दछ— अन्य प्राकृतिक प्रकोप भन्दा डरलाग्दो । यस अर्थमा पनि कि ? यो कोरोना विश्वभ्रमण गरी संसार नै सखाप पार्ने तुजुक बोके हिँडिरहेको छ । शान्ति र समृद्धि व्यवहारमा त के राष्ट्रमा पनि बचाउन सकिन्छ सकिन्न हेर्न बाँकी छ । अझै यसले २ वर्ष जति गाँजिरहन्छ, खोप नआउन्जेल भन्न सकिन्न भन्ने दृष्टिकोणह बजारमा छिरल्लिइरहँदा धन्य कोभिड–१९ भन्नु बाहेक अरु केही नहोला जस्तो भयावह सृजना गरिरहेको छ। अनि बादलका बुट्टाह काटिरहेछन् । अनि विश्व भनिरहेछ—समस्या छ तर हामीलाई समाधान चाहिन्छ । किनकि समस्या चिनिसकेको छ । अब समाधान चाहिन्छ ।

२. वित्तीय संकट
हामी पढिरहन्थ्यौँ अमेरिकाको अर्थव्यवस्था विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्था हो । आज अमेरिका पनि उवडखावडमा उभिन पुगेको अनुभव गर्दैछ । आफ्नो शाख कसरी बचाउने चिन्तामा छ । १ लाखको ज्यान लान्छ कोरोनाले राष्ट्रपति ट्रम्पले भनिरहँदा त्यहाँका आप्रवासी र स्थानीय लेखाजोखा गर्दछन् रे कम्तिमा ३ लाखको ज्याद जाँदै छ र कति अशक्त र दुर्वल हुने भन्ने गाह्रो छ, चर्चा गरिरहेछन् । चीनको आफ्नो यात्रा टिकाउन कठिन महसूस गर्दैछ । जापान, भारत सहुलियत राहतका प्याकेज फाल्दैछन् तर कहिलेसम्म भन्ने विषयले अझै पूर्णता पाउन वा आँकलन गर्न कठिन भइरहेछ ।

वित्तीय संकटको गहिराइ हेर्दा वित्तीय बजार वित्तीय उपकरण, खस्कदो उत्पादन र रोजगारी, बन्द व्यापार, व्यावसाय, राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरु सञ्चालन गर्न कठिनाई भइरहेको अवस्था, देख्दा अबका दिनमा विश्वका विकसित मुलुकहरु पनि आर्थिक मन्दिबाट गुज्रनुपर्ने परिस्थिति देखिन्छ । विश्वको उत्पादन वृद्धिमा ऋणात्मकता अल्झिरहेको छ । झन् विकासोन्मुख हाम्रोजस्तो देशमा त हिजोका दिनदेखि नै बन्दहडताल, लोडसेडिङ, श्रमिक समस्या, कार्टेलिङ जस्ता आपूर्तिजन्य कारणले आर्थिक अप्ठ्यारो वा वित्तीय संकट पर्दै थियो । झन् त्यसमा कोरोनाको यो मारले हामीलाई र हाम्रो अर्थतन्त्रलाई कुन भित्तामा लगेर कोच्ने हो अझै आँकलन भइनसकेको अवस्था, उत्पादन, आपूर्ति आयात, निर्यात, विदेशी विनिमयको सञ्चिति, विप्रेषणको अप्रवाह, वैदेशिक रोजगारिको खस्कँदो अवस्थाले वित्तीय संकट हाम्रा सामु टडकारो रुपमा उभिएको छ । जनु कुरा गर्न गाह्रो साह्रो छ त्यही कुरा गर्नपर्ने परिस्थिति हाम्रा सामु आएको छ । कृषि ……।

नेपालका बारेमा आलोचनात्मक टिप्पणी गर्नु परे भनाइ नै छ— यो मनसुन र भनसुन भरपर्नुपर्ने देश…..। वास्तवमा आकाश र मौसम हेरेर खेति गर्नुपर्ने मुलुकमा हिजोका दिनमा ‘पानी र जवानी’ बाहिरिएकै हो । त्यही बाहिरिएको जवानीबाट प्राप्त विप्रेषणबाट चलेको मुलुक भन्ने कुरा विशेष रुपमा आइरहेकै छ । समष्टिगत आर्थिक तथा वित्तीय स्थिति हेर्दा कुल ग्राहस्थ्य उत्पादन, वैदेशिक व्यापार तथा शोधान्तर स्थिति, मौद्रिक स्थिति, वित्तीय क्षेत्रको विस्तार पूँजी बजारलाई त हेर्नैपर्ने हुन्छ ।

उल्लेखित विषयका सूचाङ्कहरु हाम्रै अनुकूल नरहेको परिस्थितिमा उत्पन्न हुनु भनेको वित्तीय संकट नै हो । त्यसैले यसलाई सुझबुझपूर्ण रुपमा आफू पनि बाँचौँ र अरुलाई पनि बचाऔँ भन्ने अर्थमा कार्यान्वयन गर्नपर्ने परिस्थिति देखिएको छ । जसको लागि विपन्न वर्ग, वित्तीय क्षेत्र सुधारमा पहुँच, सुशासन र भ्रष्टाचारमुक्त जनशक्तिको माध्यमबाट वित्तीयसंकट दूर गर्न पहलकदमी अगाडि बढाउनुपर्छ ।

३. वैदेशिक रोजगारी :
वैदेशिक रोजगारी भन्नाले एक देशका नागरिक अर्को देशमा गएर कमाइ गर्ने, कार्यलाई बुझिन्छ । यो प्रवृत्ति हाम्रो देशको युवा जनशक्तिमा विशेष मौलाएको थियो । विशेष गरी साउदी, मलेसिया, कतार, बहराइन, कुवेत, कोरिया, हङकङ, ओमान, इजरायल, युनाइटेड अरब इमिरेट्स जाने गर्दछन् । त्यस अतिरिक्त करिब विश्वका १३० देशभन्दा बढिमा नेपालीहरु कामको शिलशिला वा अन्यमा गएको देखिन्छ । यिनै कामदारले पठाएको रकमलाई विप्रेषण भनिन्छ । वैदेशिक रोजगारीका कारण नेपालमा मुद्रा सञ्चितिमा विशेष सहयोग पुगेको देखिन्छ । करिब ३२ करोड मानिस वैदेशिक रोजगारीमा गएको अनुमान छ । उस्तै हाराहारीमा महिला पनि वैदेशिक रोजगारीमा गइरहेका छन् । वास्तवमा वैदेशिक रोजगारी विकासोन्मुख मुलुकको लागि बलियो खम्बाको रुपमा देखिएको छ । वैदेशिक रोजगारी गुम्दा अब के हुन्छ ? नेपाली मर्न त मर्ने केले मर्ने भन्ने कुरा उठ्न थालेको छ । विछोडको शोकले मर्ने, कोरोनाको रोगले मर्ने वा छाना, नाना र खानाको अभावले मर्ने । यसै विषयमा चिन्ता थपिँदै छ । वैदेशिक रोजगारमा गएकाहरु मार्मिक कथाहरु सार्वजनिक भइरहेको छ । साहूको ऋण र बैंकको ऋण काढेर पनि र देवरलाई कतार पठाइयो । उता कम्पनी बन्द, काम बन्द यता साहू आँगनमा चियाउने । बैंक जैले पनि खातामा चियाउनाले घर परिवार स्तब्ध भएको समाचार क्रमबद्ध आइरहेको छ ।

४. विप्रेषण आप्रवाह
विदेशमा काम गर्ने कामदारले आफ्नो कमाइको रकम स्वदेशमा बसोबास गर्ने आफन्तलाई पठाउने गर्दछन् । हो यही पठाएको रकमलाई विप्रेषण भनिन्छ । अर्थात् रेमिट्यान्स । रेमिट्यान्सको अर्थलाई फराकिलो रुपमा हेरिएको छ । एक वर्ष वा सो भन्दा बढी वैदेशिक रोजगारमा रहेका कामदारले तलब, सुविधा ज्याला, विदेशको सम्पत्ति बेचेर प्राप्त गर्ने सबै रकमलाई रेमिट्यान्स भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषको भुक्तानी सन्तुलन म्यानुयलले उल्लेख गरेको देखिन्छ ।

विश्वमा वैदेशिक रोजगारी जति बढेको छ, विप्रेषण अप्रवाह पनि त्यत्तिकै बढेको छ । नेपालले मात्र होइन भारत, चीन, मेक्सिको, फिलिपिनले पनि अरबौँ अरब (२० अर्बदेखि ४२ अर्बसम्म) अमेरिकी डलर भित्र्याएको तथ्याङ्कहरु छन् । नेपालमा पनि आ.व. २०७५÷०७६ मा रु. ८ खर्ब ७९ अर्ब २७ करोड १४ लाख बराबर विप्रेषण भित्र्याएको तथ्याङ्क भेटिन्छ ।

वस्तु निर्यात भन्दा विप्रेषणबाट बढी मुद्रा भित्रिने यो मुलुकमा अबका दिन विदेशी मुद्राको संचिति कुन अवस्थामा रहला । हामी खाद्य सामग्री सहित वैदेशिक मुद्रा तिरेर आयत गर्ने नेपालीहरुको कुन हरिविजोग हुने हो प्रश्न जटिल रुपमा रहेको छ । साथै पीडा पनि थपिएको छ । आजका केही महिनासम्म औपचारिक, अनौपचारिक माध्यमबाट यथेष्टरुपमा विप्रेषण अप्रवाह भइरहेकोमा एक एक बन्द हुँदा पर्ने असर त वास्तवमा अतुलनीय नै हुन्छ ।

नेपालमा विप्रेषण आप्रवाह बैंक, मनीट्रान्सफर हुन्डी, आदि मुख्य छन् भने साथीभाइ आफ्ना आफन्तमार्फत पनि अनौपचारिक रुपमा भित्रिरहेको देखिन्छ । अर्थात्— ट्राभलर्स चेक, टी.टी. पोष्टल अर्डर, बैंक ट्रान्सफर, इलेक्ट्रोनिक ट्रान्सफर, ड्राफ्ट आदिलाई देख्न सकिन्छ ।

जे होस् विप्रेषणलाई राष्ट्रिय पुँजीको रुपमा, उत्पादनमूलक क्षेत्रमा विदेशी विनिमय सञ्चितिको सुविधा, अर्थतन्त्रको नकारात्मक प्रभाव कम गर्ने, वित्तीय समावेशिकरण गर्न जनताको आर्थिक स्तर उकास्न मद्दत पु¥याइरहेको विप्रेषण अप्रवाहको कमी वा बन्दले अर्थतन्त्रमा पार्ने प्रभावलाई बेलैमा आँकलन गर्न नसकेमा भोलिका दिन विदेशी विनिमय सञ्चितिको र खाद्य खरिदसम्ममा टड्कारो समस्या पैदा हुने देखिन्छ ।

५. आयत विस्थापन, निर्यात प्रवद्र्धन :
नेपालको अर्थतन्त्र मुख्य रुपमा भारतीय अर्थतन्त्रमा केन्द्रित छ । भारत माथिको नेपाली निर्भरतालाई अन्त्य गरी व्यापार विविधिकरण गर्न जरुरी थियो र सोही अनुसार कदम चल्दै आयो पनि । तर पनि अझै ठूलो आयातको क्षेत्र भारत नै छ । खाद्यन्न तरकारी, फलफूल, यावत कुराहरु भारतबाट ज्यादा आउने देखिन्छ । अन्य मुलुकको निर्यात त छ तर पूर्ण रुपमा हामी भारततर्फ नै बढि केन्द्रित देखिन्छौँ । वैदेशिक व्यापारका लागि चुनौति पनि छ । हाम्रो उत्पादन क्षेत्र कम उत्पादनशील छ । समग्र आयात निर्यात २०७५÷०७६ को हेर्दा आयततर्फ १४१८५३५३४३ हजार आयत, ९७१०९५२१ हजार निर्यात र व्यापार घाटा १२२१४२५८२२ हजार देखिन्छ । आयात निर्यातको अनुपात हेर्दा १४.६ आयत देखिन्छ । त्यसैले यो खाडल पुर्न पनि आयत विस्थापन र निर्यात प्रवद्र्धन गर्न जरुरी छ । जसले गर्दा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । समस्या त चिनिए तर समाधान के हो प्रश्न जीवन्त छ ।

चुनौति
चुनौति भनेको हिजोको दिनमा ठूलो रकम प्राप्त गर्ने लोभमा वैदेशिक रोजगारीलाई प्रोत्साहन दिनु, कृषि छोडी युवाहरु विदेश जानु, नेपालमा कृषि योग्य जमिन बाँझो रहनु, आयत वृद्धि हुनु, निर्यात कम रहनु, वैदेशिक मुद्रा आइहाल्छ भैहाल्छ भन्ने टालटुले सोचमा ज्यादा खर्च गर्नु आज हामीलाई गलामा पासो लाग्ला जस्तो भएको छ । हिजोको दिनमा जिडीपीको लगभग २६% भित्रिएको विप्रेषण अहिले लगभग शून्य रहँदाको कारुणिक चित्र कतै हामी वैदेशिक मुद्राको कारण निर्यात गर्न खाद्य सामग्री समेत नसकेर भोकभोकै मर्नुपर्ने त होइन ? यो चुनौतिपूर्ण देखिएको छ ।

आ.व. २०७५÷०७६ मा नै ८ खर्व ७९ अर्व, २७ करोड चानचुन भित्रिएको छ । यो धनराशीको शून्यता बोक्नुपर्ने दिनहरु अब आइरहेको विश्वको महामारीले देखाइरहेको छ । त्यसैले अहिलेको सबैभन्दा चिन्ताको विषय रेमिट्यान्सको अप्रवाहलाई कसरी पूर्ति गर्ने भन्ने कुरा मुख्य मान्नैपर्छ । वैदेशिक मुद्राको संचिति घट्दो छ, भोलिका दिनमा अरु त कुरै छोडौँ खाद्यन्न आयत गर्न समेत नसकेर अप्ठ्यारो पर्ने स्थिति छ ।

देशको भुक्तानी असन्तुलन भयावह हुँदैछ, यो चुनौतिलाई पार गर्न सक्ने उपाय भनेको आयत विस्थापन, निर्यात प्रवद्र्धन गर्ने हो । अब निर्यात प्रवद्र्धन गर्न के गर्नुपर्छ त्यसको समाधान खोजिहाल्नुपर्छ ।

समाधानका उपायहरु :
उत्पादन र व्यापारिक क्रियाकलापलाई बढाउन सकेमात्र समाधान निस्कन सक्दछ । त्यसको लाग हाम्रो देशको मूल पूँजी भनेकै कृषि कृषिजन्य उत्पादन व्यापार, उद्योगहरु, पर्यटन, जलविद्युत, खनिज वन, पशुपंक्षी पालन नै हो । यसैको आधारमा हामीले समाधानका उपायहरु खोजी वित्तीय संकट टार्न, वैदेशिक रोजगारीलाई आफ्नै देशमा प्रतिस्थापन गर्न विप्रेषण अप्रवाह रोकिए पनि निर्यात प्रवद्र्धन गरेर जम्मा गर्न सक्नु नै मूलतः समाधानका उपायहरु हुन् । जल, जमिन, जङ्गललाई यथोचित प्रयोगन गर्न सक्नुपर्छ ।

क) कृषि : चाहे प्रि बजेटको छफलफल होस्, वा विज्ञहरुको भनाइ हुन वा राजनीति पेशाकर्मीहरु हुन्, वा सरकार वा प्रतिपक्ष सबैको मुखमा झुण्डिएको छ । कृषिको विकास नै सर्वाेत्तम उपाय र वैदेशिक मुद्राको आयत हो भन्ने कुरामा लगभग राज्य एकमत छ । तर हिजो कृषिबाट कुनै मूल्य प्राप्त नभएर, माटोसँग लाप्पा खेल्नु ज्यादै कठिन हुँदा रहेछ । शरीर काम गर्दागर्दा जीर्ण, सुविधाविहीन यातनापूर्वक बाध्यताले एक झुम्रो लाउन एक पेट खान कृषि गरेको देखिन्छ । उत्पादन छैन कहिले खडेरी, कहिले ज्यादा वर्षा, कहिले असिना हिउँ, कहिले रोग र किरा फट्याङ्ग्राले गर्दा घर भित्र बाली भित्र्याउन कठिन छ । त्यो बाली पनि फेरि बजार नपाएर, अनि बजार पु¥याउने बिचौलियाको विगविगीधबाट सुपथ मूल्य र बजारको पहुँचबाट टाढा बस्नुपरेको टयदि कुनै समूह छ भने त्यो कृषिक नै । त्यसैले दूध पोखिन्छन्, टमाटर फालिन्छन् आदि आदि । तर पनि यसलाई सही सदुपयोग गरी कृषि उत्पादनमा जोड दिई यसको उत्पादनलार्ई निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

तस्वीर गूगल

ख) व्यापार : नेपालले व्यापार गर्ने भनेको मूल कुरा तत्कालै पहिचान गरी निर्यात प्रवद्र्धन गर्न सक्नुपर्छ । चामल, मकै, तोरी, घिऊ, सूठो, दाल, कुचो, खयर, पिना, अदुवा, सालको बीयाको तेल, मैदा, जुट, अलैँची, च्यावनप्रास, वनस्पति घ्यु, पस्मिना धागो, कर्कटपाता, सिमेन्ट, स्टिलपाता, आदि हुन् । यिनीहरुको उत्पादनमा सरकारको ध्यान केन्द्रित देखिएको छ प्रि.बजेट छलफलमा पनि । यसबाट व्यापार वृद्धि गरी मुद्रा आर्जन गर्न सकिन्छ ।

ग) उद्योग : हस्तकला, साना घरेलु उद्योगबाट दैनिकी सञ्चालनका साथै काम व्यवहार पूरा गरी आयात विस्थापन र निर्यात वृद्धिमा जोड दिन सकिन्छ । माथि उल्लेखित सामानहरुको उत्पादनमा स्वयं सरकारले घरथेग गरी अगाडि बढ्न सक्नुपर्छ । जडिबुटी र कृषिजन्य उद्योगलाई प्रोत्साहन दिनुपर्छ ।

घ) जलविद्युत : विद्युतमा पहुँच वृद्धि गर्ने अवसर छ । विद्युतका योजनाहरु तय हुने क्रममा छन् । भर मग्दुर विद्युतको खपतमा पहुँच विस्तार गरी कृषिमा परिचालन गर्न सकिन्छ । विद्युत विक्रीबाट पनि आम्दानी गर्न सकिन्छ । कृषि आधुनिकीकरण गर्न पनि विद्युतको ठूलो भूमिका रहन्छ । विद्युतमा पहुँच सिकाइमा सुधार गर्ने सरकारको पनि लक्ष्य देखिन्छ । विद्युतीय चुल्हो विद्युतीय सवारी, विद्युत व्यापारलाई मूर्त रुप दिने सक्यो भने यो राम्रो विकल्प हुनसक्छ ।

ङ) पर्यटन : पर्यटन हाल सबैभन्दा तहस–नहसको क्षेत्र कोरोनाले छ । यो कहिलेसम्म रहन्छ यकिन गर्न कठिन छ । तर पनि यसका निजी क्षेत्रले गरिरहेका होटल, रेष्टुराँ ग्रामीण घर होमस्टे आदि इत्यादि कला संस्कृतिमा गरिएका खर्चलाई यथागत राखी त्यसलाई टिकाउन भने सरकारले विकल्पस्रोत अर्थात् स्रोतहरु दिन सक्नुपर्छ । अगाडि कसो दिन नआउला त भनेर पर्खनुपर्ने भएको छ ।

च) राष्ट्रिय गौरव र ठूलो आयोजना : जतिसुकै अप्ठ्यारोमा पनि सरकारले आफ्नो एक गाँस काटेर भए पनि यसलाई निरन्तरता दिनुपर्छ जसले अल्पकालीन र दीर्घकालीन समस्यालाई समाधान गर्दा मजदूरले काम माम पनि पाउँछन् । यो सोचलाई बदल्न हुन्न ।

छ) पशुपालन : निर्यात प्रवद्र्धनको विकल्पको रुपमा पशुपालन उभ्याउनु पर्दछ । मासु, दूध, चिज, लगायत खाद्य पदार्थको मेरुदण्डको रुपमा पशुपालनलाई प्रोत्साहन दिनसके नेपालको मौसम घासपातले पनि साथ दिन सक्ने खालको हावापानी छ । त्यसैले पशुपालनलाई प्रोत्साहन दिन निर्यात प्रवद्र्धन र राष्ट्रिय आपूर्तिमा आयात गर्न नपर्ने अवस्था सिर्जना गर्नतर्फ लागिहाल्नुपर्छ ।

ज) हरियाली : हरियो वन नेपालको धन भन्ने कुरा संस्मरण गरी राता–खुल्ला डाँडाहरुलाई गुल्जार गर्ने र हावा पानी र माटो अनुसारका सल्लो, धूपी, लगायत विविध प्रकारका वृक्षहरु रोप्ने मात्र होइन त्यसलाई संरक्षण र सम्वद्र्धन गरी आय आर्जनको (३ वर्षदेखि १० वर्षसम्ममा) बाटोको रुपमा लिन सक्ने व्यवस्था गर्नुपर्छ । स्थानीय सरकार यसमा लागिहाल्नुपर्छ । वर्ष दिनमै खान सकिने विभिन्न फलफूलका खेतीपातीलाई प्रोत्साहन दिई आयत प्रवृत्तिलाई विस्थापित गर्न सकिन्छ ।

झ) रोजगारी : ठूलो संख्यामा रहेको र अब विदेशबाट आउने जनशक्तिलाई काम दिन कम चुनौतिपूर्ण छैन । त्यसका लागि ठूलो आकारको सामुहिक खेती बजारीकरण, डिजिटल कृषि प्रणाली, स्वास्थ्य शिक्षा सेवा, पशुसेवा भेटनरी, विद्युत, उद्योग, वन, व्यापार व्यावसायमा उनीहरुको सीप अनुसारको अवसर दिएर रोजगारी सृजना गर्न सक्नुपर्छ ।

ञ) जागिर : सरकारी, विश्वविद्यालय, स्कुल, कलेज, बैंकमा भए जागिर भन्ने अन्यत्र भए हाकिम बाहेकका सबै कामा मजदुर जस्तै हुने, बस्ने कुर्सी पनि हुन्न, खाने फुर्सद पनि हुन्न, साहुका दास हामी नोकर हौँ भन्ने निजी क्षेत्रमा काम गर्दाको गलत मान्यताले प्रोत्साहन पाउने अर्थात् श्रमको सम्मान गर्न नजानेका कारणले कामप्रति घृणा उब्जिएको छ । यसलाई क्रमशः चेतना विस्तार गरी जहाँ जुनसुकै कामको लागि रोजगारी पाउनु नै त्यो तिम्रो लागि रोजगारी हो । र जागिर हो भन्ने भावना विकास गरी कामचोर प्रवृत्तिलाई निरुत्साही गर्नुपर्दछ ।

सारमा भन्दा कोरोना र लकडाउनबाट उब्जिएको समस्यालाई अवसरको रुपमा लिन सक्ने वातावरण बनाइहाल्नुपर्छ । कुराले हैन कामले गर्नुपर्दछ । बजेट, नीति, विकास, तीन खम्बे, एक खम्बे जे भए पनि वित्तीय संकट, टार्न सक्नुपर्दछ । विश्व अर्थतन्त्रको भरोसामा अड्ने । अर्काले दिएर खाउँला भन्ने भाव हटाउनैपर्छ । आफ्नो कार्य आफै गर्ने परिपाटी अँगाल्दै रोजगारी सृजना गर्नुपर्दछ । वैदेशिक रोजगारी गुम्यो भनेर चिन्ता गर्नुहुन्न । स्वरोजगारी भएँ भनेर गौरव गर्ने वातावरण बन्नुपर्दछ । विदेश निर्यात हुने बस्तु पहिचान गरी काम थाल्नुपर्दछ । विप्रेषणको विकल्पमा उभिनुपर्दछ ।

सरकार बलियो हुनुपर्दछ — कुनै पनि मूल्यमा विप्रेष्य मुद्रा अभाव भइरहेको बेलामा महँगा गाडी, पेयपदार्थ, विलासिताका सामान, फजूल खर्च, विदेश भ्रमण, वैदेशिक मुद्राको अपचलनमा रोक गर्नैपर्छ । अन्यथा वैदेशिक मुद्राको कमजोर ढिकुटीका कारणले औषधी खाद्यन्नको अयात गर्न पनि पैसा नभएर महामारी भोकले त्यसै त्यसै यो पुस्ता नै मेर जानुपर्ने हो कि सोच्नै पर्दछ । गम्भीर भएर….. । किनकि नागरिकलाई रोगले पनि भोकले पनि शोकले पनि मर्न दिन हुन्न । सरकार अभिभावक हो उसले अभिभावकीय भूमिका निर्वाह गी नाना, छाना र खानाको व्यवस्था गर्नैपर्दछ । त्यसका लागि आयात विस्थापन वा प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धन गर्ने र विदेशी मुद्राको संचितिमा उपलब्धिमूलक कर्म गर्न सक्नुपर्छ । यही नै माग र सार पनि हो ।

 

ट) सरकारको नीति तथा कार्यक्रम :  सरकारको नीति तथा कार्यक्रम २०७७/७८ वाचन भएको छ ।

६३ पेजको निबन्धात्मक शैलीको कार्यक्रममा सार भनेको आन्तरिक रोजगारीको प्रवद्र्धन, आर्थिक पुनरुत्थान, कृषिमा जोड, स्वास्थ्यमा पुनःप्राथमिकीकरण र अर्थतन्त्रको क्षति कम हुने प्रस्ताव पेश भएको छ । स्थानीय तहमा रोजगारी बाँझो जमिनलाई खेतीमा प्रोत्साहन गर्ने कुरा छन् ।

धेरै भए पनि कोभिड १९ को महामारी र वैदेशिक रोजगारीबाट फर्केकालाई रोजगारी दिने र उत्पादन र पूँजीवृद्धिका कुरा फजुल खर्च कटौतिका बुँदाले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने देखिन्छ । यो मुद्रा सञ्चितिको आधार बन्नसक्छ ।

अन्य विगतका आयोजनाहरुलाई निरन्तरता र थप सुधार विकासका साथै मैत्री प्रेम र सहयोगी भावको संकेत गरेको तर आम समुदायको भनाइ छ । नीति राम्रो भएर मात्र पुग्दैन कार्यान्वयन कस्तो हुन्छ, बजेट कसरी आउँछ त्यसमा नै निर्भर रहन्छ ।

(आलेखमा प्रयोग गरेका तस्वीर गुगलबाट लिईएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?