सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

काठमाडौं । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० रुपैयाँ पुगेको छ ।

मङ्गलवार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार २६० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर एक हजार १३५ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ८६८.४५ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए ।

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोवार शून्यमा झरेको महासङ्घले जनाएको छ । “नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हो”, उनले भने। देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?