काठमाडौँ, २३ फागुन – साझा यातायात सहकारी संस्था लिमिटेडले उपत्यकामा आजदेखि अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ ।काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बस सेवा (सेमी लो–फ्लोर) को आज संयुक्त रुपमा प्रारम्भ गर्नुभयो ।उक्त बस लगनखेल, पाटन अस्पताल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पताल, वीर अस्पताल, जमल लैनचौर, लाजिम्पाट, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, गङ्गालाल हुँदै न्यूरो अस्पतालसम्म सञ्चालन हुनेछ । बस सोही रुट हुँदै फर्कनेछ । उक्त बस कामपाको सहकार्यमा अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको हो ।आजदेखि सञ्चालनमा ल्याइएको उक्त बसमा ४१ सीट क्षमता रहेको छ । बसमा बालबालिकाका लागि छुट्टै सीटको व्यवस्था गरिएको छ । छिट्टै विद्युतीयसहित २४ वटा बस सञ्चालन गर्ने तयारी साझाले गरिरहेको छ ।सो अवसरमा कामपाका प्रमुख शाक्यले नागरिकको आवश्यकतालाई अध्यनजर गर्दै बसको संख्या वृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै गरेर १०० वटा बस सञ्चालन गर्ने उद्देश्य राखिएको छ र त्यसमा अपाङ्ग र बालमैत्री बस पनि हुने छन् ।”अस्तव्यस्त सार्वजनिक यातायातलाई व्यवस्थित गर्न साना र दुई पाङ्ग्रेलाई हटाएर ठूला सवारी साधन सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले २०१९ सालदेखि सञ्चालन गर्न थालिएको साझा यातायात समय समयमा बन्द हुँदै पुनःसञ्चालनमा आएकामा आफू खुशी भएको बताउनुभयो । साझालाई निरन्तर दिन आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता पनि प्रमुख महर्जनले व्यक्त गर्नुभयो ।साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले उपत्यकामा ठूला सवारी साधनको उच्चतम प्रयोग नहुँदा नागरिकले धेरै सास्ती बेहोर्नु परेको र साझा जस्ता बसले आगामी दिनमा यी समस्याको निराकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडालले साझालाई सरकारीकरण गर्न नहुने धारणा राख्नुभयो ।हाल उपत्यका र बाहिर गरी साझाका ४७ बस सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया