एसपी यादवसर्लाही, फागुन २८ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएलगत्तै सर्लाही जिल्लास्थित विभिन्न नाकाबाट अवैधरुपमा भारतीय सामाग्रीहरुको चोरी निकासीमा बृद्धि भएको छ । तस्करहरुको बढ्दो प्रभाव र सक्रियताका कारण यस क्षेत्रका विभिन्न नाकाबाट ब्यापक तस्करी भएको हो ।सर्लाही जिल्लास्थित पर्सा, त्रिभुवननगर, मलङ्ग्वा, भाँडसर, फेन्हारा र बलरा नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी निकासी हुन थालेको छ । भन्सार छलेर ल्याइने यस्ता भारतीय सामग्रीहरुमा छड, सिमेन्ट, चिनी, तेल, चामल, मलखाद्य, धान, स्पेयर पार्टस्, कुखुराका चल्ला, अण्डा, कस्मेटिक तथा खेलकुदलगायतका सामग्रीहरु रहेका छन् । तस्करहरुले भने नेपालबाट भारततर्फ सुपारी, मरिच, मदिरा, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु चोरी निकासी गर्दै आएका छन् ।तस्करहरुले दिनहुँ खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका कारण सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ । सर्लाहीका विभिन्न नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेता पनि तस्करी नियन्त्रणमा भने उनीहरुको खासै भूमिका देखिन्न । सुरक्षाकर्मीहरुकै मिलेमतोमा यस क्षेत्रबाट तस्करी हुँदै आइरहेको स्थानीयको दावी छ । सदरमुकामदेखि ग्रामीण भेगसम्म कुरेर पैसा असुल्ने काममा प्रहरीनै संंलग्न छन् । भारतीय सीमाका हरेक प्रवेशद्वारमा मालबाहक सवारीका साथै अवैध ओसारपसार गर्नेसँग पैसा असुल्ने र ग्रामिण भेगबाट हुने काठको निकासीमा प्रहरीले ठाउँठाउँमा पैसा लिएर निर्वाध ओसारपसार गर्न छुट दिएको छ ।’तस्करी बृद्धि हुनुमा सुरक्षाकर्मीकै संलग्नता छ, माथिल्लो हाकिमहरुलाई मिलाएर यहाँ तस्करीको लाइन सञ्चालन भइरहेको छ, मासिक नजराना दिएर सञ्चालित तस्करी फस्टाउदै गएको छ । माथिल्लो निकायले तस्करी नियन्त्रण गर्न तत्काल पहल गर्नुपर्छ ।’ नाकाबासीले भने । तर तस्करी रोक्नेतर्फ सर्लाही प्रहरी प्रशासन मौन रहेकोले उनीहरुको मिलेमतो हुने स्थानीयको दावी छ । सो विषयमा सर्लाही जिल्ला प्रशासन प्रमुख कृष्णबहादुर कट्वाललाई फोन सम्पर्क गर्दा उनले तस्करी रोक्न आफु एक्लै नसक्ने भएकोले टिमवर्कको आवश्यक रहेको बताए । उनले भने, ‘हामी तस्करी रोक्न प्रयासरत छौं ।’सोही विषयमा सशस्त्र प्रहरीका प्रमुख एसपी रविन्द्र ठाकुरले रिसाउँदै धम्कीपुर्ण भाषामा गर्दै भने, ‘तपाई मेरो पछि लाग्नु भएको छ । अब हामी तपाईंको पछि लाग्ने छौ ।’भारतीय सीमावर्ती क्षेत्रमा तैनाथ नेपाली सुरक्षाकर्मीहरु भने केही बोल्न चाहेनन् । उनीहरु आफ्ना माथिल्लो हाकिमहरुसँग कुरा गर्न अनुरोध गर्दै पन्छिए । सर्लाही प्रहरी प्रमुख एसपी मसउद आलम खाँलाई फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया