सनम हत्या काण्ड : दोषीलाई कार्वाहीको माग गर्दै संघर्ष समिति

मोरङ, २८ फागुन- मोरङको उर्लाबारी–७ का ३६ बर्षीय सनम शाक्यको हत्या काण्डको निष्पक्ष छानविन र दोषीलाई कानूनी कार्वाहीको माग गर्दै संघर्ष समिति गठन गरिएको छ ।शाक्य बौद्ध समाज सेवा उर्लाबारीको पहलमा सोमबार सर्वपक्षिय भेला गर्दै स्थानीय समाजसेबी कृष्ण प्रधानको संयोजकत्वमा ५१ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । जसमा ७ सदस्यीय सचिवाल समिति पनि बनेको छ ।सचिवालयमा सचिन शाक्य, बाझाङ राई, अशोक जगेबु, कोमल शाक्य, इश्वरलाल उदाश र धर्मराज शाक्य रहेका छन् । घटनाका मुख्य अभियुक्तको खोजी गरी कार्वाही गर्न माग सर्वपक्षिय समितिले माग गरेको छ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले पनि घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई उन्मुक्रि दिन नहुने बताएका छन् । ‘घटनाका जो दोषी हुन्, उनीहरुलाई प्रहरी प्रशासनले छानविन गरी कार्वाही गर्नु पर्छ’ उनले भने । भेलामा सहभागी उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीले घटनाका मुख्य अभियुक्तको पहिचान गरी कानूनी कार्वाही गर्नु पर्ने धारणा राखेका छन् ।शाक्यको क्रुरतापूर्वक हत्या गरेको भन्दै हत्याका मुख्य दोषी गोरे वा रुपेश भनेर चिनिने ब्यक्ति चूडामणि उप्रेती भएको पीडित परिवारको आरोप छ । फागुन १८ गते शाक्यको विराटनगरमा चेकजाँचको क्रममा हत्या गरेको अवस्थामा दुई वटा गाडीसहित तीन जनालाई पक्राउ गरिएको थियो ।प्रहरीले मोरङ उर्लाबारी– ७ बस्ने कृष्ण भन्ने नरेन्द्र कार्की, उर्लाबारी–४ का मने भनिने मोहन काफ्ले र काभ्रे मन्डन देउपुर गाउँपालिका १२ बस्ने टेकराज मल्ल ठकुरी पक्राउ गरी प्रहरीले संगठित अपराध तथा कर्तव्य ज्यान आरोपमा मोरङ अदालतमा म्याद थप गराएर अनुसन्धान गरिरहेको जनाएको छ । यसैबीच उक्त घटनाकै बिषयमा जोडिएका झापाको चारआलीका लाक्पा शेर्पालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यसैबीच उर्लाबारी क्षेत्रका एक युवाले आफू असुरक्षित भएको भन्दै इलाका प्रहरी कार्यालय दमकमा आत्समर्पण गरेका छन् । उनका विषयमा पनि जिल्ला प्रहरी कार्यालय मोरङ छानविन भईरहेको छ ।प्रहरी प्रशासनबाट प्रभावकारी अनुसन्धान नभएको भन्दै संघर्ष समिति नै बनाइएको हो । अबैध सुन कारोबारमा संलग्न रहेका सनमलाई उनका साथीहरुले हराएको ३२ केजी सुनको विषयमा कुरा गर्नुछ भन्दै लहान बोलाएको र सुधपुछका क्रममा विभिन्न ठाउँ घुमाउँदै उत्तरी मोरङको उर्लाबारीस्थित सोल्टि खोलाको किनारमा हत्या गरिएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीले गरेको पत्रकार सम्मेलनमा खाद्यान्नका सामग्री, पकाउने भाँडा, पानी बोक्ने ड्रम, केही थान मोबाइल, व्याट्री, करेन्ट लगाउन प्रयोग हुने केही सामग्रीको साथमा केही लत्ताकपडा पक्राउ गरेको जनाएको छ । जसमा काभ्रेका टेकराज मल्ल ठकुरीले चलाएको बा १२ च ५९६३ नम्बरको सेतो रंगको स्कारपियो र उर्लाबारीका मोहन काफ्लेले चलाएको मे १ च ५३९५ नम्बरको टाटाको गाडी पक्राउ परेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?