गौशाला गोली प्रकरणः गणेश लामाको १० दिन म्याद थपियो

काठमाडौँ, १ चैत – स्थानीय गौशालामा बुधबार राति पक्राउ परेका गणेश लामालाई प्रहरीले १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ ।प्रहरीले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले जानकारी दिनुभयो । प्रवक्ता थापाले लामामाथि हातहतियार तथा खरखजना ऐनमा मुद्दा चलाइने जानकारी दिनुभयो ।हातहतियार तथा खरखजना ऐनअन्तर्गत छ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनलाई गत माघमा अदालतले सफाइ दिएको थियो । लामा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकबाट प्रदेशसभाका उम्मेदवारसमेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?