कोरोनाले दिएको अवसर : यसकारण र यसरी कौसी खेती गरौँ

ऋचा श्रेष्ठ तिवारी /काठमाडौं – पहिले काठमाडौंबासी सिमित रुपमा खेतमा मात्र निर्भर हुन्थे । समयको चक्रसँगै उनीहरुले घरको छतमा धनियाँ, लसुन, प्याज , टमाटर आदी रोपेर आवश्यकता पूरा गर्ने थाले । यसरी उनीहरुले घरमा नै पालेको कुखुराको मल, तरकारीहरुबाट निस्किएको फोहोर, भान्छाबाट निस्किएको फोहोर संकलन गरेर राख्ने गरे ।

यसरी खेर गइरहेको फोहोरलाई मोहर बनाउन मानिसहरुले स साना बट्टा वा गमलामा रोपेका तरकारीमा प्रयोग गर्न थाले । खेती किसानी गर्ने भएकोले उनीहरुलाइ यो सहज भयो पनि ।


कौसीमा विभिन्न पूरानो भाँडोहरुमा पूजा गर्नका लागि केही फूलहरु लगाउनेहरुलाई पनि यो प्रांगारिक मलखादले राम््रो फाईदा पुर्यायो । ब्राह्मण छेत्रीहरुले भने तुलसी पूजा गर्ने भएकोले तुलसी रोप्न थाले । घर हुनेहरुले घरको छतमा अनि केहीले आागनमा रोपे ।


बारी धेरै नहुने भएकोले धेरैले त्यतिबेलादेखि नै कौसीको महत्व बुझे । त्यसपछि दैनिक खानामा प्रयोग हुने धनियाँ , खुर्सानी , टमाटर आदी प्रयोग गरेर त्यसको बिज भने त्यतिकै कौसीको गमलाहरुमा फालेको र यी बिउ बिजनबाट नै तरकारीहरु फल्न थालेपछि धेरैजना यो प्रति उत्साहि भएका हुन् । यहाँका बासिन्दाहरुले घर कै पुरानो भाडाहरु बाटाबाल्टी, पूरानो प्वाल परेको भाडाहरु प्रयोग गरी अरु पनि तरकारीहरु रोप्न थाले र बिस्तारै अरुले पनि यो सिको गर्न थाले र बिस्तारै कौसी खेतीको अवधारणा आएको हुनसक्ने बताउनुहुन्छ बानेश्वर बस्ने सुरेन्द्र पौद्याल ।

यसरी खेती गर्दा कहिलेकाहीँ घरको ढलानमा, सबैभन्दा माथिको कोठामा पानी रसाउने हुन्छ । यसको समस्या समाधानको लागी प्लास्टिक सिट राखेर अस्थायी रुपमा वाटर प्रुफिङ गर्न मिल्छ भने एक तह वाटर प्रुफिङको सिट राखेर अलि कति अलकत्रा लगाएर पनि वाटर प्रुफिङ गर्ने सकिन्छ । त्यसैगरी अर्को उपाय भनेको एक तह वाटर प्रुफिङको माथि माटो हालेर पनि खेती गर्न सकिन्छ । नभए चाहि गमलामा नै गर्नु राम्रो हुन्छ वा फलामको स्टाण्ड बनाएर त्यसमाथि पनि गमला राखेर गर्न सकिन्छ। यसरी गर्दा घरको छत र ढलानमा पानी रसाउँदैन भन्नुहुन्छ डेकोर डिजाईन प्राइवेट कम्पनीकि सहरी विकास डिजाइनर विधिता शाक्य ।


हामीले घरको छानालाई जमिनमा परिणत गर्नु अघि ध्यान दिनुपर्दछ, छाना र छानाको अवस्था जाँच गर्नुपर्दछ कि यो प्राविधिक रूपले वाटरप्रूफ छ र खेतीका लागि राम्रो छ कि छैन भनेर । हामी सबैलाई थाहा भएकै छानामा खेतीपातीका लागि पानीको अभाव एउटा ठूलो चुनौती हुन सक्छ, तर बर्खे पानी जमाएर वा संकलन गर्ने उपाय पनि यस चुनौतीको सामना गर्ने अर्को तरिका हो ।

हिबिस्कस, बोगेनभिलस, गुलाब, चमेली, झेंडा र जैविक तरकारीहरू जस्तै धनियाँ, लसुन, मिर्च, प्याज, टमाटर र अन्य मौसमी तरकारीहरू घरको छाना र बाल्कोनीमा उब्जनी गर्न सकिन्छ । छत जैविक खेतीले तरकारीहरूमा कीटनाशकको समस्यालाई समाधान गर्न सक्दछ किनकि उत्पादनहरू रसायनमुक्त हुन्छन् ।


तर कतिपय ले माटो को अभाव, स्थानको अभाव, तरकारीहरु लगाउने तरिका नजान्ने , पानीको राम्रो ब्यवस्था नहुँदा पनि चाहेर पनि कौसी खेती गर्न सकेका छैनन् तर धेरैजसो काठमाडौंबासीहरु भने कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न गत वर्ष चैत्रमा सरकारले लकडाउनको नीति लिएपछि यहि खेतिमा निर्भर भएका छन् ।

यहाँ भएका नर्सरीहरुले पनि कौसी खेतीको लागि चाहीँने आवाश्यक सामाग्रीहरु उपलब्ध गराउँदै आएका छन् । त्यसैगरी मल मिसाएको माटो पनि बोरामा किन्न सकिन्छ । घरमा नै कम्पोस्ट मल बनाउन पनि सकिन्छ भने बजार , नर्सरीमा पनि राम्रो मलहरु पाउन सकिन्छ । घरमा नै कम्पोस्ट मल बनाउन पनि सकिन्छ भने बजारमा पनि राम्रो मलहरु पाउन सकिन्छ । यस्ते मल बनाउनका लागि विभिन्न तालिम पनि लिन सकिन्छ भने युट्युब तथा सामाजिक सन्जालबाट पनि विभिन्न तरिकाहरु सिक्न सकिन्छ ।


गमला नै नहुँदा पनि ग्रोथ ब्याग किन्न पाउनुका साथै पुरानो चामल को बोरा को सिलाउन पनि सकिन्छ , गर्न चाहनेलाइ उपाय धेरै छन । सानो ठुलो परिवारहरुलार्इ भने स्वच्छ , ताजा मौसम अनुसार तरकारीहरु खान पाउने सुविधा दिएको छ र मेहनत र जाँगर बढाएको छ त्यसैगरी समय र स्वास्थ्यको लागि पनि बहुउपयोगि रहेको छ ।
यसैबीच काठमाडौं महानगरपालिकाले पनि सहरी हरियालीलाई बढावा दिन राजधानीका घरपरिवारलाई छाना र टेरेस फार्मिङ प्रशिक्षण दिने योजना बनाइरहेको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार भीमसेनकोला, सिनामंगल, बुद्धनगर, कलंकी, टेकु र डल्लुका छानिएका घरपरिवारलाई तरकारी, जडिबुटी, मसला, फूल र फलफूलको छानामा टेरेसनकाबारे अभिमुखीकरण र तालिम दिइनेछ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन प्रभागले भने, घरपरिवारलाई वर्मी कम्पोस्ट तयारी, फोहोर अलग्गै राख्ने, नर्सरी व्यवस्थापन, वर्षाको पानी संकलन र बिरुवाको छाँट र संरक्षणका उपायहरूबारे प्रशिक्षण दिनेछ ।


प्रशिक्षणका क्रममा प्रत्येक घरपरिवारलाई बगैँचाको लागि कम्पोस्ट डिब्बा, पिक्याक्स, कैँची, पानी र अन्य आवश्यक उपकरणहरू उपलब्ध गराउनेछ ।
कौसी खेतीले गर्दा हामीले ताजा र बिषदी नहालेको सब्जीहरु दिन दिनै खान पाइरहेका छौँ । जुन हाम्रो स्वास्थ्यको लागि धेरै फाईदाजनक पनि हो ।

लकडाउन अघि देखि नै कपुरधारा धबु मार्ग बस्ने धुर्व प्रसाद थपलिया ले कौसि खेती गर्दै आउनुभएको छ ।

घरमा कौसी ठुलो छ । पानीको राम्रो ब्यवस्था छ । ठुलो जग्गा छ । घरको पुछारमा केहि फूलहरु लगाएको देख्न सकिन्छ र फलफूलहरु पनि छन् जसमा लिच्चि, एभोकाडो, रुद्राक्ष , हलुवाबेद आदि रहेका छन्। दैनिक रुपमा उहाँ कौसीमा अपरान्ह ३ बजे देखि पानी हाल्ने, मलहरु हालेर फूलहरु गोडमेल गर्ने गर्छन् ।


यसरी तरकारी लगाएको उनले करीब १० बर्ष जति भयो । प्राय उनको भान्छाको तरकारी त्यहि कौसिबाट नै निस्कन्छ । फुर्सदको ४ ५ घन्टा उनी कौसिमा नै बिताउने गर्छन्।
उनकोमा प्राय मौसमी तरकारी , फलफूल र सुन्दर फूलहरु भेटिन्छन्। बेलाउती, फिलिपिनो कागती, जापानिज खर्बुजा , धनियँया, लसुन ,प्याज, घिरौँला, घ्यूसिमी , खुर्सानीका विभिन्न प्रकार साग, पुदिना , रामतोरिया , कर्कलो , जिरे अकबारे , खुर्सानी , क्याप्सिकन, बकुल्ला ,राम तोरिया आदी रहेका छन् । ति तरकारीहरु कुनै बाथटब , कुनै बालटी, गमला , आजकाल निस्केको ग्रोथ ब्याग , माछा पसल मा पाइने माछा राख्ने भाडो , आदी प्रयोग गरेर उनले आफ्नो कौसी खेती लाइ निरन्तरता दिरहेका छन् । यसरी खेती गर्दा उनीहरुले कहिले गाइको मल , पिना , कुखुराको मल , र आफ्नै घरमा भएको फोहोर जम्मा गरेर कम्पोस्ट मल बनाएर तरकारस् तथा फूलहरुमा हाल्ने गर्ने गरेको बताउनुहुन्छ ।

उहाँ प्राय: मौसमी तरकारीलाइ नै प्राथमिकता दिनुहुन्छ   । त्यसो त घरमा तुलसीको बोट , घ्यूकुमारी, रोजमेरी , सयपत्री , गोदाबारी र केही आउटडोर ग्रीन प्लाण्ट पनि देख्न सकिन्छ एभोकाडो पनि मनग्गे फल्छ समय समयमा । उहाँले थप्नुभयो, एभोकाडो अरुले खान दिएको बिउ रोपेर फलेको हो । आजसम्म दुई क्विन्टल फलेको छ यो फल । नेपाली हरुले त्यती नखाने तर स्वास्थ्यको लागि धेरै राम्रो छ यो एभोकाडो कार्तिक ,मङ्सिर , पुषमा पनि खान सकिन्छ ।

यसरी तरकारीहरु फलाएर बर्खा मौसममा यही तरकारीले छाक टर्छ । तर हिउँदमा भने किन्नुपर्छ । बिउबिजनहरु कहिले भोटाहिटी, कहिले बालाजु , कहिले कुमारी नर्सरी, आदीबाट ल्याउने गरेका छन् । घरमा सडेर गलेर जाने खाद्य वस्तुहरु जम्मा गरेर मल बनाउने पनि गरेका छन् ।

उहाँले वडाबाट पनि कम्पोस्ट मलको लागि सहयोगको आशा गर्नुभएको छ । वडाले पनि कम्पोस्ट मल बनाउनको लागि उपकरण दिन्छ भन्ने सुनेको हो तर नपाएको गुनासो गरेको छ ।

नयाँ जातका फूल ,तरकारी , फलफूलहरु लगाएर उनी अझै यो कौसी खेतीलाइ निरन्तरता दिने सोचमा छन् ।

त्यसैगरी यस्ता थुप्रै परिवारहरु छन् जसले अहिले कौसी खेतीमा नै निर्भर छन् । ति मध्ये ज्वाला प्रजापति पनि एक हुन् ।

आफ्नो घरको कौसीमा कुखुरा पालन गरेर त्यसैको मल हालेर सरकारी धारा बस्ने ज्वाला प्रजापतिले पनि आफ्नो कौसी मा यसरी नै विभिन्न साग , धनियाँ, बकुल्ला , टमोटर, जिम्बु , खुर्सानी , भटमास, सिमि आदी रोप्नुभएको छ । उहाँलाई मलको कुनै चिन्ता छैन । कुखुरा र भान्छाको सडे गलेको तरकारिहरु बाट चाहिनेजति मल बन्छ ।
तरकारीको लागि पानीको पनि राम्रो व्यवस्था छ । वर्षात्को पानीलार्इ टिनको छानाबाट पाइप लगाएर उनले ड्रममा जम्मा गर्ने गरेका छन् ।

कति त आजकाल सामाजिक सन्जालमा ग्रुप बनाएर एक अर्कासँग सल्लाहहरु लिएर पनि कौसी खेतीतर्फ उन्मुख हुँदै छन् । यो निकै सुखद् पाटो हो । जस्ले हामीलाई दैनिक एक छाक तरकारी किनेर खान नपर्ने बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?