काठमाडौं । विश्व बैंकले नेपालका लागि ८ करोड डलर बराबरको कृषि परियोजना स्वीकृत गरेको छ । यो परियोजनाले कृषि उपजका लागि ग्रामिण बजार सम्पर्क मजबुत गराउने उद्देश्य राखेको छ ।
नेपालको कृषि क्षेत्रको विकास र कोभिड महामारीको आर्थिक प्रभाव न्युनीकरण गर्ने उद्देश्यले ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजनालाई स्वीकृत गरेको हो ।
यसले स्थानीय तहमा रोजगारी सिर्जना हुने र कोभिडले पारेको आर्थिक असर न्युनीकरणमा सहयोग पुग्ने विश्व बैंक समूहको विश्वास रहेको छ । खासगरी कृषिका माध्यमबाट महिला उद्यमशिलताको विकासमा यो परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका अनुसार यो परियोजना ५ प्रदेशमा केन्द्रित हुने भएको छ । प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा परियोजनाअन्तर्गत कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नेपालले बढी सम्भावना बोकेका चिया, कफी, फलफुल तथा जडिबुटीलाई बजारिकरण गर्न सहयोग पुग्ने विश्व बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया