असोजसम्मको वैदेशिक व्यापार सुधारोन्मुख, अझै चीनतर्फका दुवै नाकाबाट निर्यात शुन्य !

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ३ महिनामा नेपालको कुल व्यापार घाटा १५.१३ प्रतिशतले घटेको छ । नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको व्यापार घाटा चालु वर्षको ३ महिनामा सुधारोन्मुख देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा आयात १२.७४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोहि समयमा ३ खर्ब ३४ अर्ब ९४ करोड ९३ लाख ६३ हजार बराबरको कारोबार भएकोमा चालु वर्षमा ४२ अर्ब ६७ करोड ९५ हजारले घटेर २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजार बराबरको आयात भएको छ ।

चालु वर्षमा आयात घटिरहेको अवस्थामा निर्यात भने बढिरहेको छ । गत वर्षको सोहि अवधिको तुलनामा चालुवर्षमा निर्यात १४.२८ प्रतिशतले बढेको छ । गत आ वको पहिलो ३ महिनामा २७ अर्ब १६ करोड ६७ लाख ७० हजार रुपैयाँको निर्यात भएकोमा चालु वर्षको ३ महिनामा ३१ अर्ब ४ करोड ६० लाख ९३ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

गत वर्षको तुलनामा व्यापारघाटा १५.१३ प्रतिशतले घटेपनि चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालको व्यापार घाटा २ खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार रुपैयाँ छ । ४६ अर्ब ५५ करोड ८८ लाख २५ हजार रुपैयाँले भने व्यापार घाटा सुधारीएको छ ।

आयता हुने वस्तुमा १९ अर्ब ७४ करोड भन्दा धेरै अन्न आयात भएको छ । त्यस्तै २८ अर्ब ५८ करोड २७ लाख ६९ हजार रुपैयाँ बराबरको इन्धन आयात गरिएको छ । प्लास्टिकजन्य वस्तुहरु ११ अर्ब ८८ करोड ७२ लाख ४ हजारको आयात भएको छ । २४ अर्ब भन्दा धेरैको फलाम र स्टिलजन्य वस्तुहरुको आयात भएको छ भने २२ अर्ब भन्दा धेरैको मेसिनेरि सामान र २७ अर्ब भन्दा धेरैको विद्युतिय मेसिनेरि सामानको आयात भएको छ । चालु आ व को ३ महिनामा १९ अर्ब भन्दा धेरैको सवारीसाधान आयात भएको भन्सार विभागको तथयाङकले देखाएको छ ।

नेपालको १२५ मुलुकहरुसँग वैदेशिक व्यापार रहेकोमा ९ वटा देश बाट कुनै आयात भएको छैन् भने ३३ वटा मुलुकमा निर्यात शुन्य रहेको भन्सार विभागको तथयाङकले देखाएको छ । भारतसँग नेपालको व्यापार घेरै रहेको छ । चालु आ व को ३ महिनामा भारतबाट १ खर्ब ९३ अर्ब ६२ करोड ४२ लाख ६७ हजारको आयात हुँदा २१ अर्ब ३३ करोड ३७ लाख ५२ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

नेपालको विरगंज, भैरहवा र विराटनगर भन्सारबाट सबैभन्दा धेरै वैदेशिक व्यापार भएको तथयाङकले देखाएको छ । विरगंज भन्सारबाट ८८ अर्ब ६१ करोड ८४ लाख १८ हजार रुपैयाँ बराबरको आयात हुँदा ९ अर्ब ५२ करोड ५३ लाख ७३ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

चीनतर्फको रसुवा नाकाबाट २ अर्ब १६ करोड ७६ लाख ४८ हजार बराबरको अयात भएको छ भने तातोपानी नाकाबाट २५ करोड ९४ लाख ५२ हजार बराबरको आयात भएको छ तर यी दुवै नाकाबाट अहिलेसम्म कुनै निर्यात भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?