काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि उद्योगी किशोर प्रधानले आफ्नो प्यानलसहित उम्मेद्वारी दर्ता गरेका छन् । महासंघको ५४ औँ साधारण सभा आगामी मंसिर ११ र १२ गते काठमाडौंमा हुन लागेको छ ।
सोमवार एक कार्यक्रमकाबीच उद्योग वाणिज्य महासंघको भवन टेकुमा प्रधानले आफ्नो प्यानलसहित उम्मेद्वारी दर्ता गरेका हुन् ।
प्रधानको प्यानलबाट एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठसहित उम्मेद्वारी दर्ता गरेका हुन् ।
गत वर्षको चैतमा हुन लागेको महाधिवशेसन कोरोना महामारीको कारण रोकिएको थियो । पछि मिति तोकिएपनि लकडाउनका कारण महासंघको निर्वाचन पटक पटक रोकिएको थियो ।
अघिल्लो महाधिवेशनमा आगामी अध्यक्ष शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा प्रतिष्पर्धामा पराजित भएका थिए । महासंघको विद्यानत वरिष्ठ उपाध्यक्ष गोल्छा स्वत अध्यक्ष हुँदैछन् । गोल्छा र हालकी अध्यक्ष भवानी राणाको समेत साथ सहयोग पाएका प्रधानसँग व्यवासायी चन्द्र ढकालले प्रतिष्पर्धा गर्दैछन् । प्रधानले प्यानलसहित उम्मेद्वारी घोषणा गरिसकेपनि आज भिभान्त होटलमा एक कार्यक्रमकाबीच औपचारिक रुपमा उम्मेद्वारी घोषणा पश्चात महासंघको कार्यालयमा उम्मेद्वारी दर्ता गरेका हुन् ।
औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्दै प्रधानले कोभिडले थिलोथिलो पारेको अर्थतन्त्र उकास्न जोड दिने बताएका छन् । “कोभिडले अर्थतन्त्रमा पारेको असरलाई चिरेर आर्थिक समृद्धिको यात्रा तय गर्न मेरो उम्मेद्वारी हो ।” प्रधानले भने ।
उनका प्रतिष्पर्धी ढकालले भने गत कार्तिक ५ गते नै आफ्नो प्यानलसहित उम्मेद्वारी दर्ता गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया