एप्पलले आइफोन ११ को डिस्प्ले नि:शुल्क परिवर्तन गरिदिने

काठमाडौं । एप्पलको आइफोन ११ को डिस्प्लेमा समस्या देखिएको छ । उपभोक्ताहरुको गुनासोलाई मध्यनजर गर्दै एप्पलले आइफोन ११ को डिस्प्ले निस्शुल्करुपमा परिवर्तन गरिदिने कार्यक्रम एप्पलले शुरु गरेको छ ।

एप्पलका अनुसार आइफोन ११ को डिस्प्लेमा यस्तो समस्या देखिएको छ जसका कारण डिस्प्लेमा छुँदा रेस्पोन्ड हुँदैन ।

२०१९ को नोभेम्बर देखि सन् २०२० को मे महिनाको बीचमा उत्पादन भएका आइफोनहरुमा यस्तो समस्या देखा परेको एप्पलले जनाएको छ ।

एप्पलले आफ्नो सपोर्ट पेजमा बताए अनुसार आइफोन ११ को डिस्प्ले मोड्युलमा केही समस्या देखा परेको छ । एप्पलले अघिल्लो वर्ष आइफोन ११ प्रो तथा आइफोन ११ प्रो म्याक्स मोडेलसँगै आइफोन ११ संस्करण बजारमा ल्याएको थियो ।

आइफोन ११ मा ६.१ इन्चको लिक्विड रेटिना एचडी डिस्प्ले रहेको छ । आइफोन ११ लञ्च भएको करिब एक वर्षभन्दा धेरै समय बितिसकेको छ ।

एप्पलको डिस्प्ले प्रतिस्थापन योजनामा आइफोन ११ लञ्च भएको दुई महिनापछि अर्थात् नोभेम्बरबाट उत्पादन भएका ह्याण्डसेटमात्र योग्य हुनेछन् ।

आइफोन ११ को डिस्प्लेमा पत्ता लागेको आम समस्या बाहेक अन्य टुटफुट वा अतिरिक्त समस्याहरुको मर्मतका लागि चाहिँ प्रयोगकर्ताले रकम तिर्नुपर्ने हुनसक्ने एप्पलले प्रष्ट पारेको छ । (एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?