झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । गुल्मीमा झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न दम्पती पक्राउ परेका छन् ।

ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका-१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका-६ अर्जे घर भएका ३८ वर्षीय राम प्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठ रहेका छन् ।

राम प्रसादले आफ्नो घरमा अपरिचित व्यक्तिहरु आई अशान्ति मच्चाई रहेको भन्दै बुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएपछि आवश्यक अनुसन्धानको लागि खटिएको प्रहरीले ईश्मा गाउँपलिका-३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर कुमाल (मुखिया) लाई आगोले पोली डामी मृत्यु भएको तथा उनका जेठो छोरा ३४ वर्षीय हुम बहादुर मुखिया सामान्य घाइते अवस्थामा फेला परेका थिए ।

गत आइतवार राम प्रसादको घरमा गएका रामबहादुरलाई उपचार गर्ने बहानामा खाना खान समेत नदिई आगोमा तताएको उक्त फलामे बस्तुले डामेपछी सन्चो हुन्छ र आफै एकछिनमा उठ्छन् भन्दाभन्दै उनको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै, रेसुङ्गा नगरपालिका-५ भुवनपानी बस्ने ४० वर्षीया टोपला दमाईलाई समेत झारफुक गर्ने बहानामा राम प्रसादले गत शनिवार बोलाई सोही विधिबाट पोली डामी घाइते बनाएको खुल्न आएको छ । टोपलालाई उपचारको लागि अस्पतालतर्फ पठाइएको छ ।

साथै, अभियुक्त श्रेष्ठले राम बहादुरको मृत्यु शंका गरी आफू जोगिनका लागि बहाना बनाई झुटो झै-झगडाको निबेदन दिएको समेत खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?