काठमाडौं । महेन्द्रनगरको महाकाली अस्पतालमा मृत्यु भएका (नातामा देवर भाउजू पर्ने) २५ वर्षीय शेरीराम कोली (देवर) र २० वर्षीया भाउजूको मृत्यु विष सेवनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुको शव परिवारले बुझेका छन् ।
“पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । मृतकको शव आफन्तहरुले बुझिसक्नु भएको छ ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले लोकपथसँग बताए ।
मृतक महिला र पुरुषको मृत्युका सम्बन्धमा भेटिएका प्रमाण, क्लू, घटनास्थल, उनीहरुले बस्न लिएको होटल, परिवार लगायतलाई लिएर अनुसन्धान भइरहेको थापाले बताए ।
“घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ । शवको पोष्टमार्टम रिपोर्ट ४-५ दिनमा आँउछ र मृत्यु के कारण भएको थाहा हुन्छ”, उनले भने ।
घटना के हो ?
दुई दिनअघि बैतडी घरबाट भागेर निस्केका २५ वर्षीय शेरीराम कोली र २० वर्षीया महिला शनिवार बिहान महेन्द्रनगर आइपुगेका थिए ।
महेन्द्रनगरको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा उनीहरु कोठा लिएर केहिबेर बसेका थिए । कोठामा केहि समय बसेपछि उनीहरु कोठाबाट कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताल पुगे । होटलबाट निस्कदाँ नै उनीहरुको अवस्था सामान्य नरहेको बुझिएको छ ।
अस्पतालमा पुग्दा भाउजूको अवस्था सामान्य नभएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिएको थियो । तर अवस्था गम्भिर भएकी उनको उपचारका क्रममा हिजो शनिवार बेलुकी ५ः१५ बजे मृत्यु भएको थियो ।
कोलीको पनि शनिवार राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
कोलीले मृत्यु अघि “भाउजूले पत्ता दिँदै खान भन्नु भयो, आफूपनि खानुभयो र मलाई पनि खुवाउनु भयो ।” भनेका कारण पत्तामा केहि मिसाएर खान दिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्ररम्भिक अनुसन्धानबाट जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया