काठमाडौं । थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले इभी अर्थात् इलेक्ट्रिकल भेइकल बनाइरहेका छन् । उनीहरुले यो इभी भेइकल आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि बनाइरहेका हुन् ।
अहिले गाडीको चेसिस मात्र तयार भएको छ । विद्यार्थीहरुका अनुसार कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । ‘सिरेटो’ नाम दिइएको टीमले प्रतियुनिट विद्युतबाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तन जस्तै अनुभूत गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनाका साथ गाडी बनाउन लागेका हुन् ।
सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबिच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिने हुँदा सोहीअनुसार विद्यार्थीहरुले पनि तयारी गरेका हुन् ।
सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकल लगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी रहेका छन् । फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेको सल्लाह र सुझाब लिँदै मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वी शर्मा अनि अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमन श्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेलका साथै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषय पढिरहेका स्वर्णिम श्रेष्ठ राम्रो र उत्कृष्ट निर्माणमा लागि लागेका हुन् ।
यसैबीच यस कार्यका लागि गोल्छा ग्रुपको सि.एस.आर कम्पनीले सहयोग गरेकोे छ । गोल्छा ग्रुपले सधै नयाँ कामको र नयाँ खोजको कदर गर्दै आएकाले यसमा पनि सहयोग गरेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया