काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि भारतले कोरोनाविरुद्धको खोप निर्यात तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप तत्काल अरु देशलाई नदिनले भारतले निर्णय गरेको हो ।
अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले गरेको त्यहाँको विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सेरमले उत्पादन गरेको खोप नेपालसहितका देशले किन्नका लागि सम्झौता गरेका छन् ।तर संक्रमण दर बढ्दै गएको र आफ्नो देशमा कोरोना भाइरसको नयाँ भेरियन्टले अवस्था थप भयावह हुन सक्ने भन्दै आन्तरिक माग पूरा गर्नका लागि तत्कालका लागि खोपको निर्यात बन्द गर्ने निर्णयमा भारत पुगेको हो ।
भारतको यो निर्णयका कारण भारतबाट किन्न चाहेका तथा कोभ्याक्स अन्तर्गत खोप पाउने सूचिमा रहेका विश्वका झण्डै १९० देश प्रभावित हुने भएका छन् । भारतमा पछिल्ला दिनमा संक्रमण बढ्दो क्रममा छ । बुधवार मात्र ४७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भयो भने २ सय ७५ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया