काठमाडौं । रङहरुको पर्व होली अर्थात् फागु पर्व आज (आइतवार) धुमधामका साथ देशभर मनाईंदै छ। विशेष गरेर आज पहाडी जिल्लाहरुमा होली मनाईन्छ । र, भोलि (सोमवार) तराईका जिल्लामा होली मनाउने चलन रहेको छ ।
पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुन्छ ।
आज बिहानदेखिै विभिन्न रङ, अबीर दलेर, लोला खेल्दै पिचकारीबाट पानी छ्यापेर शुभकामना साटासाट गर्दै विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ।
सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रङ र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता रहेको छ।
होली पर्वका अवसरमा विभिन्न रङ दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ। त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न चिकित्सकले आग्रह गरेका छन्।
होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ। तर यस वर्ष पनि कोरोना भाइरसको जोखिम अझै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयहरुले विज्ञप्ती निकालेर नखेल्न सूचना जारी गरेका छन् ।
यसैबीच नेपाल सरकारले सार्वजनिक समारोह, कार्यक्रम, भेला, गोष्ठी तथा भीडभाड हुने किसिमका कुनैपनि कार्यक्रम नगर्न र नगराउन तथा त्यस किसिमका कार्यक्रममा सहभागी नहुन अनुरोध गरेको छ ।
नेपाल प्रहरीले आफ्नो परिवारको बीचमा मात्रै होली खेलेर सभ्य र स्वस्थ रहन अपिल गरेको छ ।
पछिल्लो एक सातादेखि भारतमा कोरोनाको जोखिम बढीरहेको र दोस्रो लहर नेपालमा भित्रन सक्ने जोखिमलाई मध्येनजर गर्दै नेपाल सरकारले हवाई तथा सिमा सुरक्षा र चेक जाँचमा कडाई गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया