काठमाडौं – आज (सोमवार) तराईमा होली । हिजो (आइतवार) पहाडी जिल्लाहरुमा मनाइएको रङहरुको पर्व ‘होली’ आज तराईका जिल्लाहरुमा धुमधामका साथ मनाईन्छ । पहाडी जिल्लाहरुमा भन्दा यो पर्व तराईका जिल्ला धुमधामका साथ मनाईन्छ ।
काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा ३२ फिट लामो होलीको चीर ठड्याइएसँगै होली मनाउन शुरु गरिन्छ ।
यसपटक कोरोनाको कहर र जोखिम कायमै रहेका कारण प्रशासनले होली नमनाउन अनुरोध गरेको छ ।
विभिन्न सप्तरङ दलेर शुभकामना आदान गर्दै मनाइने होली पर्वले सदियौँदेखिको सांस्कृतिक महत्व बोकेको छ ।
तराईमा अझ जोखिम बढ्दै छ कोरोनाको !
भारतमा कोरोना संक्रमणको दोस्रो लहर आएसँगै तराईमा झनै कोरोनाको जोखिम बढेको छ । यसअर्थ होली खेल्न बाहिर नजान,भीडभाड नगर्न, जमघट नहुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
सुरक्षा योजना :
इच्छा विपरित रंग वा लोला हानेलाई पक्राउ गरेर मुद्दा चलाउने तयारीसहित सुरक्षा योजना लागू गरिएको प्रहरीले छ ।
कसैको इच्छा विपरित रङ दले वा लोला हाने प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।
हराउँदै मौलिक संस्कृति
होलीकै पूर्व सन्ध्यामा सप्तरीका स्थानीय प्रदीप मण्डलले तराई – मधेशमा मनाइने होलीबारे लोकपथसँग भने ‘बुरा ना माने भाई होली है‘‘ जोगीडा सरररररर’ होलीका गीतहरु मिथिलाञ्चल जनकपुर लगायत तराई – मधेसका विभिन्न जिल्लाहरुमा प्रख्यात छ । यही गीतले भनेका शब्दहरुमा रम्दै हामीहरुले हर्षोउल्लासका साथ होली पर्व मनाउँदै आएका छौँ।’
तराई- मधेशमा होलीको रौनक र जोगीडा खेल्ने क्रम शुरु भइसकेको बताउँदै उनले भने, ‘विगतभन्दा अहिले तराई–मधेशमा होली जोगीडा खेल्नेको संख्या निकै कमी भएको छ, आधुनिकताको नाममा अहिले परम्परागत होली गीत समेत लोप हुँदै गएको छ । यसका साथै कोरोनाको कहरका कारण पनि यो पटक पहिलेजस्तो रौनक छैन ।’
तराई – मधेशका प्रत्येक गाउँको टोलटोलमा विगतका वर्षमा सुनिने होली जोगीडा अब सुनिन छाडिएको मण्डलले लोकपथसँग कुराकानीका क्रममा सुनाए ।
‘पहिले–पहिले गाउँको दलानमा ढोलक, हार्मोनियम, डम्फा, झाइल, मजिराको तालमा राती अबेरसम्म बालकदेखि वृद्धा या भनै सबै उमेर समूहका मानिसहरु छुट्टाछुट्टै टोली बनाएर जोगीडा गाउने चलन थियो, शुरुमा देवी दुर्गा भवानिको बन्दना, देवि दुर्गा भवानिबाट शुरु गरेपछि पछि–पछि हाँसो ठट्टा गर्दै जोगीडा गाइन्थ्यो, तर अहिले डिजेको नाममा विस्तारै तराई–मधेशको संस्कृति लोप हुँदै गएको छ ।’
यस्तो छ पौराणिक कथन
होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।
होली खेल्ने दिनभन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ ।
राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।
भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुश्मनी बिर्सेर मान्छे एकअर्कासित मिसिन्छन् र रङहरुले भत्केका सम्बन्ध र तिनका पर्खालहरु भत्काउँछन् ।
होली पर्वको इतिहास :
होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपु नामक राक्षसले भगवान विष्णुभक्त आफ्नै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन) जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् । तर, प्रहृलादलाई केही भएन । यही कारणले गर्दा पनि होली पर्वको छुट्टै विशेषता रहेको छ ।
होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शलाई ब्रजवासीहरूले यसैगरी जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।
होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । विंध्यक्षेत्रको राम गढ स्थानमा स्थित ईसा भन्दा ३ सय वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ ।
संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।
जगतप्रकाश मल्लको समयमा बनेको दत्रात्तय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरूवात गरिन्छ ।
फागुन शुक्ल अष्टमीको दिन भिमसेन मन्दिरमा राखिएको लिङ्गो अर्थात् लगलाई टोल—टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी घुमाएर पुन मन्दिरको पाटीमा राखिने परम्परा छ ।
काठबाट बनेको दुई हात लामो लिङ्गो करिब ३० इन्च मोटाई रहेको छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ । घर र पसल वरपर घुमाएको लिंगलाई भक्तजनले स्पर्श गरी ढोग्ने र दान दक्षिणा चढाउने चलन छ । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ ।
नेवार समुदायमा होलीको विशेषता
चीर स्वायगू अर्थात् लिङ्ग झुन्ड्याएपछि नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् ।
यहाका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गीत गाउने गर्छन् ।
फाल्गुन शुक्ल पूर्णिमाका दिन रङ्ग होली खेलेपछि उक्त दिन साझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गूलाबको फूल, अत्तर र अमुख सहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ । त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्ला छरी साँझपछि दत्रातय मन्दिर पुर्याउने प्रचलन रही आएको छ ।
साँझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ, यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ ।
लिङ्ग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको छ । लिङ्ग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुन्छ ।
तस्वीर : दिलिप सहनी, सिरहा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया