अब जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गरिने

लोकपथ
0
Shares

काठमाडौं । सरकारले जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्ने भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट जीन एक्सपर्ट विधिमार्फत् कोरोना परीक्षण हुने भएको हो । बिहान ९ देखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट परीक्षण गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाले जारी गरेको सूचना अनुसार यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउने छ । प्रयोगशालाले छिटो रिपोर्ट चाहिनेका लागि भन्दै यो विधिबाट कोरोना परीक्षण सेवा शुरु गरेको हो ।

‘तुरुन्त उपचार गर्नुपर्ने अवस्था’ भनी चिकित्सक तथा अस्पतालले सिफारिस दिएमा जीन एक्सपर्ट विधिबाट परीक्षण गर्न सकिनेछ । सेवा शुल्क एक हजार कायम गरिएको छ । त्यस्तै, उपचार वा कुनै पनि स्वास्थ्य सेवा लिनेक्रममा चित्त नबुझे वा त्रुटि आशंका लागे सरकारलाई गुनासो टिपाउन मिल्नेसमेत भएको छ ।

स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बरमा गुनासो टिपाउन सक्ने व्यवस्था गरिएको छ । कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्नेक्रममा सेवाग्राही सर्वसाधारणलाई कुनै समस्या भए वा सेवा प्रदायकबाट कुनै त्रुटि भए हटलाइन नम्बर ११३३ मा कल गरेर गुनासो टिपाउनसक्ने व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सर्वसाधारणले हटलाइन नम्बरमा विहान ८ देखि बेलुका ८ बजेसम्म खुला रहने र गुनासो टिपाउन सकिने छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?