मानव बेचबिखनमा संलग्न फरार अभियुक्त एक वर्षपछि पक्राउ

लोकपथ
7
Shares

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना फैसला भएका फरार अभियुक्त पक्राउ परेका छन् ।

झापा घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बस्ने ३८ वर्षीय जयतबहादुर राईलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

राईलाई बिहीवार साँझ काठमाडौं-९ तिलगंगामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले लोकपथलाई बताइन्।

राईलाई शुक्रवार अदालत पेश गरिएकोमा कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको छ।

उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार एवम् संगठित अपराध मुद्दामा उच्च अदालत पाटनले २०७६ साल चैत २ गते कैद र जरिवाना फैसला गरेको थियो।

खाडी मुलुक ओमानमा घरेलु कामदारको रूपमा रोजगारी दिलाउने प्रलोभनमा पारी उनले एक महिलालाई बिना श्रमस्वीकृति अर्कै मुलुक दुबई पठाउन खोजेको राईमाथि आरोप थियो ।

पीडित महिला ओमानको सीमावर्ती क्षेत्रमा बन्धक भएकी थिइन्।

ब्युरो र दुबईस्थित नेपाली दूतावासको सहयोगमा ती महिलालालाई २०७३ सालमा उद्दार गरिएको थियो । राईले ती महिलाबाट तीन लाख ५० हजार रुपैयाँ लिएका थिए । पीडितलाई राईले पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला अदालतको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?