राप्ती प्रतिष्ठानमा नसा खुम्चिएर डल्ला परेकी ७५ वर्षीया वृद्ध बिरामीको सफल अप्रेसन !

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डल्ला परेका नसाहरुको सफल अप्रेसन गरिएको छ । घोराहीकी ७५ वर्षीय एक वृद्धाको खुट्टाको भागमा नसा डल्लो परेर बिरामी भएपछि त्यसको शल्यकृया गरिएको हो ।

प्रतिष्ठानका चिकित्सक सर्जन डा. विशाल आचार्य र बिर हस्पिटल काम गरिसकेका सर्जन डा. रबि आचार्य नेतृत्वको नर्श, एनेस्थेसियासहितको स्वास्थ्यकर्मीको टोलीले वृद्ध व्यक्तिको अप्रेसन गरेको छ ।

खुट्टाको भागमा नसाहरु खुम्चिएर डल्लो पर्दा हिँडडुल गर्न समस्या भएपछि ती वृद्ध प्रतिष्ठानमा भर्ना भएकी थिइन् । तुलसिपुर निवासी सर्जन आचार्यले प्रतिष्ठानमा अहिले धमाधम अप्रेसनहरु भइरहेको भन्दै बिरामीको चाप अस्पतालमा बढ्दै गएको बताए । उनले प्रतिष्ठानमा पर्याप्त चिकित्सकको उपलब्धतासँगै साना(ठुला अप्रेसनहरु हुन थालेपछि बिरामी उपचारका लागि प्रतिष्ठानमा आउन थालेको बताए ।

दुरबिन विधिबाट एपेन्डिसाइटिस, पत्थरिको अप्रेसन शुरु गरिसकेको प्रतिष्ठानले नसाहरु खुम्चिएका बिरामीहरुको केही दिन यता ४ वटा भन्दा बढी अप्रेसन भइसकेको जानकारी दिए । उनले शरीरका खुट्टा, घाँटी, काखी, पिठ्यु लगायतका विभिन्न भागहरुमा नसा खुम्चिएको, मासु पलाएको, रगत बग्ने नली खुम्चिएको,छाला टास्ने लगायत थुप्रै सफल अप्रेसन अहिले भइरहेको पनि बताए ।

टिचिङ अस्पताल काठमाडौं, भैरहवा युसि एमएसमा लामो समय काम गरेर अनुभव बटुलेका आचार्यले बिरामीलाई प्रदान गर्ने सेवालाइ मध्यनजर गर्दै प्रतिष्ठानमा बुटवल भन्दा पश्चिम नभएको दुरबिन विधिबाट हर्नियाको अप्रेसनपनि छिट्टै सुरु गरिने जानकारी दिए । ‘दुरबिन विधिबाट बुटवल भन्दा पश्चिम हर्नियाको अप्रेसन भएको छैन, सेवा विस्तारलाई जोड दिँदै त्यो सेवा पनि अब सुरु गर्छौं,’ उनले भने, ‘दुरबिन विधिबाट हर्नियाको अप्रेसनका लागि दाङका बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता छ, अब यो सेवा पनि हामिले प्रतिष्ठानमा छिट्टै सुरु गरेमा दङ्गालिहरुलाई बाहिर जानु पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?