काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन(संघ)ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ ।
आज मंगलवार नेपाल निजामती कर्मचारी युनियन(संघ) को राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणा पत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती सेवा ऐनमा लोकतन्त्र विरोधी रहेको बताए ।
ऐनले संविधानलाई नै उलंघन गरेको तथा कर्मचारीहरुको सेवासुविधा, वृत्तिविकास लगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै सो ऐन पास भए कर्मचारीहरु आन्दोलनमा उत्रिने बताए । राष्ट्रिय भेलाले ऐनको विरुद्धमा देशव्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफु अनुकुलका कर्मचारीहरुलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलले बताए । नेपाल निजामती कर्मचारी युनियन (संघ) का उपाध्यक्ष उत्तम कुमार कटुवालले संघीय निजामती सेवा ऐनले ट्रेड युनियनको अधिकारलाई हनन गरेको बताए । श्रेणीबिहिन कर्मचारीको वृत्तिविकासको व्यवस्थालाई कुण्ठित गरिएको पनि उनले बताए । करार कर्मचारीहरुलाई स्थायी बनाउनुपर्ने आफुहरुको मागको सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण पनि गराए ।
सरकार नायब सुब्बाको वृत्ति विकास र बढुवामा गम्भिर नभएको पनि उपाध्यक्ष कटुवालले बताए । ट्रेड युनियनको अधिकारको निम्ति नेपाल निजामती कर्मचारी युनियन (संघ)ले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया