एमालेद्वारा ह्विप उल्लघंन गर्ने ३ सांसदलाई पार्टीबाट निष्काशन, प्रकाश ज्वालालाई केन्द्रले कारवाही गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीको ह्विप उल्लघंन गर्ने ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

एमाले प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले आज (शनिवार) विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्यहरु नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जनाएका छन् ।

आज शनिवार बसेको पार्टीको बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी निष्काशन गर्ने निर्णय गरेको बोगटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका प्रकाश ज्वालालाई पार्टी सदस्य समेत नरहने गरी निष्काशन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको जनाइएको छ ।

बुढा, थापा र शाहीले हिजो शुक्रवार प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई पार्टीको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेर विश्वासको मत दिए थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?