काठमाडौं । छौटौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपालको विभागीय टोली एपिएफ क्लबले जितेको छ। विराटनगरको शहीद मैदानमा हिजो (शनिवार) साँझ सम्पन्न खेलमा एपिएफले पञ्जाब पुलिस क्लबलाई १ ० गोल अन्तरले पराजित गरेको हो।
खेलको १० औं मिनेटमा प्रदीप लामाको गोलबाट अग्रता लिएको एपिएफले उपाधि सहित १५ लाख १५ हजार रुपैयाँ नगद पुरस्कार हात पारेका छन् । फाइनल सम्मको यात्रा तय गर्दा एपिएफले नेपाल पुलिस क्लबलाई क्वार्टर फाइनलमा र आयोजक टोली विराटनगर महानगरपालिकालाई सेमिफाइनलमा पराजित गरेको थियो।
पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाएको पञ्जाब पुलिसले उपविजेता स्वरूप ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार थाप्यो । पञ्जाबको फाइनल सम्मको यात्रा कठिन थियो । उसले क्वार्टरफाइनलमा शहीद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र क्लबलाई र सेमिफाइनलमा आहा रारा गोल्डकप विजेता संकटा क्लबलाई पराजित गरेको थियो।
एपिएफ दोस्रो पटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । यस अघि २०७० सालको दोस्रो संस्करणको फाइनल खेलमा एपिएफ संकटा क्लब सँग १ ० गोलले पराजित भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया